काठमाडौं- चितवन, महोत्तरी र कैलालीमा भएका अलग दुर्घटनामा तीनजनाको ज्यान गएको छ।
चितवन भरतपुर महानगरपालिका–२९ भतेरी जंगलस्थित सडकमा ना८ख ४५६२ नम्बरको टिपरले वागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तनहुँ देवघाट गाउँपालिका–५ का ५२ वर्षीय बिक्रम तामाङको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महोत्तरी सोनमा गाउँपालिका–३ स्थित सडकमा बीआर ०६ डब्लु १७८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–३ खकनाका २५ वर्षीय महोताज भन्ने अबदुल अन्सारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचार क्रममा मृत्यु भएको हो।
यस्तै, कैलाली गोदावरी नगरपालिका–४ गोदावरी धाम नजिकै सडकमा ग१ज ६८५५ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१ भरतपुरका ४५ वर्षीय सेकुराम चौधरीको सोमबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।