काठमाडौँ । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा ध्यान नदिँदा देशभर फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ०७९ साउन १ गतेयता हालसम्म कूल २४ हजार ४९२ जना डेंगु संक्रमण पुष्टिसमेत भइसकेको छ । डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
नेपालमा डेंगुको बिरामी पहिलोपटक ०६१ सालमा देखिएको थियो । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिदै आएको छ ।
मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन् ।
यस्तै, प्रदेश १ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंहले डेंगु नियन्त्रण गर्न तत्काल आवश्यक कदम चाल्न विभिन्न माध्यमबाट सरकारलाई आग्रह गर्दै आएका छन् ।