काठमाडौँ । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको हो ।
विभागका अनुसार आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ ।
विभागले आगामी २४ घण्टा देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १ का थोरै स्थानमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
रातको समयमा देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३१ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।