काठमाडौँ । पछिल्लो समय देशभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्न थालेको छ । योसँगै जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुमन घिमिरेले आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ । कोभिड १९ को संक्रमण रोकथाम र उपचार व्यवस्थासम्बन्ध आइतबार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए ।
‘अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नु पर्ने गरी आदेश जारी गरिएको छ,’ घिमिरेले भने ।
आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा संघसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्नु पर्ने उल्लेख गरिएको घिमिरेले बताए । जिल्लामा कोभिड-१९ सम्बन्धी सुरक्षा सतर्कता बढाइएसँगै यसको अनुगमनलाई समेत अगाडि बढाउने घिमिरेको भनाइ छ ।
‘अर्को व्यवस्था जारी नभएसम्मका लागि यो सूचना जारी गरिएको हो,’ घिमिरेले भने, ‘कोरोनाको संक्रमण बढ्ने घट्ने भएमा सोहीअनुसारको नीति अवलम्बन गरिने छ ।’