काठमाडौँ । खेती लगाउने मुख्य समयमा किसानले मल नपाएर चौतर्फी विरोध हुँदा दोलखा जिल्लामा जेठ मसान्तसम्म ९२५ मेट्रिकटनभन्दा बढी मल भित्रिएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ ।
चालु आर्थिक वर्ष २०७८-७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० किलोग्राम मल भित्रिएको तथ्यांक रहेको शाखाका प्रमुख नवराज महतले बताए ।
उनका अनुसार जिल्लामा उक्त परिमाणअनुसारको युरिया, डिएपी र पोटास मल तथा कृषि चुन आपूर्ति भइसकेको छ । दोलखाको दुई नगरपालिका र सात गाउँपालिकाका सबै स्थानीय तहले सिफारिस गरेका आधारमा अनुदानमा किसानलाई वितरणका लागि उक्त मल नौ वटा नै स्थानीय तहमा आपूर्ति गरिएको शाखाप्रमुख महतले जानकारी दिए ।
नेपाल सरकारले कृषकका लागि दिएको अनुदानअनुसार युरिया मल ५० केजीको प्रतिबोरा ८२४, डिएपी ५० केजीको प्रतिबोरा दुई हजार २८९, पोटास ५० केजीको प्रतिबोरा एक हजार ६६५ र कृषि चुन २५ केजीको प्रतिबोरा १८५ ले बिक्री गर्ने गरी मल जिल्ला भित्रिएको हो ।
अनुदानमा मल वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय संयन्त्र खारेज भएपछि हाल उक्त काम पालिका उपप्रमुख वा उपाध्यक्ष संयोजक रहनेग री समितिलाई जिम्मा दिइएको छ ।