काठमाडौँ । गत जेठ २ गते बुद्ध जयन्तीको अवसरमा सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् ।
नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको हो । यी दुवै संयुक्त अरब इमिरेट्स (युएई)का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् ।
क्यानका महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले आगामी दुई हप्ताभित्रै व्यावसायिक उडान गर्न प्रक्रिया थालेको जानकारी दिए । उनका अनुसार खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप उच्च रहेको छ । त्यसैले अन्य विदेशी वायुसेवा कम्पनीले यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न रुची देखाएको हो ।
विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले दैनिक उडान सुरु गर्ने तयारी गरेको विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रहेको छ । भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा ६ हजार ६०० रुपैयाँ कममा सेवा दिन सकिने जनाइएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने आउने यात्रुका लागि यो विमानस्थल सहज भएको बताइएको छ ।