ढाका- बिजुली खपत कम गर्न बंगलादेशमा साँझ ८ बजेपछि बजार बन्द गर्न सरकारले निर्देशन दिएको छ।
प्रधानमन्त्री शेख हसिनाले साँझ ८ बजेपछि सबै पसल तथा व्यावसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी हुन्। यो नियम देशैभर लागू गरिने भएको छ।
हसिनाको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रिया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरेका छन्। बिजुली तथा पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले राति ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको उनको भनाइ छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विश्वव्यापी समस्याको रूपमा देखिएकाले त्यसको खपत कम गर्न पनि ८ बजेपछि बजार बन्द गर्नुपरेको अधिकारीहरूले बताएका छन्।
साँझ चाँडै बजार बन्द गर्दा बिजुली र पेट्रोलियम पदार्थको खपत घट्ने तथा व्यापार घाटा पनि कम हुने अपेक्षा बंगलादेश सरकारको छ।