काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल अमेरिकासँग कुनै प्रकारको सैन्य गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । उनले आफूहरूले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीलाई जानकारी दिइसकेको बताए ।
अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिँदै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।
उनले अमेरिकालाई तत्कालीन नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपीसम्बन्धी पत्र पठाइएको स्वीकार गरे ।
‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो,’ उनले भने, ‘चिठी लेखिएको साँचो हो, तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’
उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध गरे । सन् २०१९ मा पत्र पठाउँदा नेपाल सरकारको नेतृत्व केपी शर्मा ओलीले गरेका थिए भने रक्षामन्त्री ईश्वर पोखरेल थिए ।