भारतको १५औँ राष्ट्रपतिमा दुईजनाको नाममा छलफल भइरहेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार फारुख अब्दुल्ला र गोपालकृष्ण गान्धीको नाममा सत्तारुढ भाजपा र विपक्षी दलहरू बीच छलफल भइरहेको छ।
यसअघि महाराष्ट्रमा तीनपटक मुख्यमन्त्री बनेका नेसनलिस्ट कंग्रेस पार्टीका अध्यक्ष शरद पवारलाई नयाँ राष्ट्रपति बनाउनेबारे सत्तारुढ र विपक्षी दलहरू बीच छलफल भएको थियो। तर, पवारले राष्ट्रपति बन्न अस्वीकार गरेपछि अब्दुल्ला र गान्धीको नाममाथि विमर्श भइरहेको छ।
८५ वर्षीय फारुख अब्दुल्ला जम्मु एन्ड कश्मीर नेसनल कन्फरेन्सका अध्यक्ष हुन्। सन् १९८२ यता उनी पाँचपटक जम्मु कश्मीरका मुख्यमन्त्री भइसकेका छन्। उनी जम्मु कश्मीरका पहिलो मुख्यमन्त्री शेख अब्दुल्लाका छोरा तथा पूर्वमुख्यमन्त्री ओमार अब्दुल्लाका पिता हुन्। उनी केन्द्र सरकारमा पनि नवीकरणीय ऊर्जा मन्त्री रहिसकेका नेता हुन्।
यस्तै, राष्ट्रपतिको नाममा चर्चामा रहेका गोपालकृष्ण स्वर्गीय महात्मा गान्धीका नाति हुन्। उनी महात्मा गान्धीका कान्छा छोरा देवदासका कान्छा छोरा हुन्। भारतका पूर्वकूटनीतिज्ञ, पूर्वआईएएस अफिसर तथा पश्चिमबंगालका पूर्वगभर्नर पनि हुन्। सन् २०१७ मा भएको राष्ट्रपतीय चुनावमा उनलाई युनाइटेड प्रोग्रेसिभ अलायन्सले उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो। तर, एनडीए अलायन्सका वैन्कैया नायडुसँग पराजित भएका थिए।
दुई नेताको नाममा सहमति जुटाउन रक्षामन्त्री राजनाथ सिंहले विपक्षी दलहरूसँग सत्तारुढ भाजपाका तर्फबाट छलफल गर्ने जिम्मेवारी पाएका छन्। उनले पश्चिमबंगालकी मुख्यमन्त्री तथा तृणमुल कंग्रेसकी अध्यक्ष ममता बनर्जी, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, बिहारका मुख्यमन्त्री नितीश कुमार, उडिसाका मुख्यमन्त्री नवीन पटनायक, आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डी, बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीलगायत नेताहरूसँग छलफल अगाडि बढाएका छन्।
भारतका नयाँ राष्ट्रपतिका लागि १८ जुलाईमा मतदान हुँदैछ। त्यसका लागि १५ जुनदेखि नै नामांकन शुरु भएको छ। भारतका १४औँ राष्ट्रपति रामनाथ कोविन्द २४ जुलाईमा पाँचवर्षे कार्यकाल पूरा गरेर अवकाश लिँदै छन्।