युद्धको नाममा रुसले युक्रेनको अन्न चोर्दै आफ्ना सहयोगी मुलुकलाई बिक्री गर्ने गरेको खुलासा भएको छ।
रुसले कब्जा गरेको युक्रेनको भूभागबाट त्यसरी अन्न चोरी गरेर बिक्री गर्दै आएको खुलासा भएको हो। खासगरी, युक्रेनको दक्षिणी युक्रेनबाट रुसले अन्न चोर्दै बिक्री गर्दै आएको छ।
यसअघि पनि युक्रेनले आफ्नो ६ लाख टन अन्न चोरी गरेको आरोप रुसमाथि लगाएको थियो। संसारभर अन्न पु¥याउने युक्रेनमाथि रुसले आक्रमण थालेयता विश्वव्यापी खाद्य संकट देखिएको छ। युक्रेनले अफ्रिका र मध्यपूर्वमा बर्सेनि लाखौँ टन अन्न निर्यात गर्ने गथ्र्यो, जुन रुसी आक्रमणपछि ठप्प छ।
रुसले युक्रेनको गहुँ चोरेर अफ्रिकाको सुक्खा प्रभावित क्षेत्रमा बिक्री गर्दै आएको न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। युक्रेनलाई अन्न निर्यात गर्न नदिने र भण्डारणबाट चोरेर आफैंले बिक्री गर्ने रणनीतिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखिएका छन्।
टर्कीमा युक्रेनका राजदूतले पनि उक्त तथ्य पुष्टि गरेका छन्। आफ्नो मुलुकबाट गहुँ चोरेर रुसले टर्कीलगायत मुलुकमा बिक्री गरिरहेको उनले बताएका छन्।