काठमाडौं- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सात जिल्लाका नदीनालामा शुक्रबार बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, तनहुँ, लमजुङ, गोरखा र आसपासका केही स-साना नदीहरूमा आकस्मिक बहाव (बाढी) आउन सक्ने सम्भावना देखिएको छ। तथापि, आगामी तीन दिन मुलुकका प्रमुख नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहने महाशाखाको भनाइ छ।
विभागकै मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ।
आज प्रदेश १, मधेश प्रदेश, वागमतीमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेश प्रदेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, वागमती र गण्डकीलगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वागमती र गण्डकीका केही स्थान तथा मधेशसहित अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति प्रदेश १, वागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वागमती र गण्डकीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।