भारत उत्तराखण्डको चारधाम यात्रा शुरु भएको एक महिनामा ८६ तीर्थालुको मृत्यु भएको छ।
तीमध्ये ४४ जनाको केदारनाथ यात्राका क्रममा मृत्यु भएको छ। यस्तै, यमुनोत्री जाँदै गरेका २५, बद्रीनाथको आसपासमा १३ र गंगोत्रीमा चार तीर्थालुको मृत्यु भएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार तीमध्ये अधिकांशको मृत्यु कारक हृदयाघात पाइएको छ। स्वास्थ्य अधिकारीहरूले पोस्ट कोभिड प्रभावका कारण पनि तीर्थयात्रीको मृत्यु भइरहेको उल्लेख गरेका छन्।
गत ३ मेदेखि चारधाम यात्रा खुलेको हो। चारधाम यात्रामा कमजोर स्वास्थ्य सुविधाका कारण तीर्थयात्रीको मृत्यु भइरहेको आरोप छ।
दुई वर्षपछि खुलेको चारधाम यात्रामा तीर्थालु अत्यधिक देखिएका छन्। तर, मृत्युदर पनि अत्यधिक पाइएको छ। महिनादिनमा झण्डै ११ लाख यात्रीले चारधाम यात्रा गरिसकेका छन्। करिब ६ महिना चल्ने चारधाम यात्राका लागि हालसम्म २१ लाखभन्दा बढीले नाम लेखाइसकेका छन्।
खासगरी, सीधा हेलिकोप्टरबाट उत्रेर चारधाम यात्रामा अगाडि बढ्दा स्थानीय मौसमसँग अनुकुलित हुन नसकी तीर्थयात्रुले मृत्युवरण गर्नु परेको अनुमान पनि छ।