मुस्ताङ- चालु वर्षको पहिलो चार महिनामा थोरङ्ला पास हुँदै आठ हजार ६४ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।
राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै उक्त सङ्ख्या मुस्ताङ पुगेको हो । मुस्ताङ हिमालपारिको सानो र मनोरम जिल्ला हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु वर्षको साउनदेखि कात्तिक महिनासम्म स्वदेशी पर्यटक दुई हजार ८४१ र विदेशी पर्यटक पाँच हजार २२३ जना थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिएको जनाएको छ ।
राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटक लमजुङको बँेसीसहरबाट मनाङ हुँदै समून्द्री सतहको पाँच हजार ४१६ मिटर उचाइको साहसिक पदमार्ग थोरङ्ला पास गरी मुस्ताङको मुक्तिनाथ आइपुग्छन् ।
यो पदमार्गमा बर्सेनि दुई ‘सिजन’ करिब पाँच महिना मात्र स्वदेशी तथा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन् ।
जिल्ला प्रहरी कार्यालयले प्रविष्ट गरेको पर्यटकीय विवरणअनुसार चालु वर्षको पहिलो चार महिनामा स्वदेशीतर्फ पुरुष दुई हजार ८०८ र महिला ३३ जनाले मनाङ—मुस्ताङ थोरङ्ला पास गरी मुस्ताङ भित्रिएका हुन् ।
यसैगरी, विदेशी पर्यटकतर्फ पुरुष तीन हजार ५७ र महिला दुई हजार १६६ जनाले राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ भित्रिएका हुन् ।
बस्यालका अनुसार चालु वर्षको साउनमा १३३, भदौमा ३९९, असोजमा एक हजार ३६८ र कात्तिक महिनामा ६ हजार १६४ जनाले थोरङ्ला पास पदयात्रा गरी मुस्ताङ भित्रिएको बताउनुभयो ।
चालु वर्षको कात्तिक महिनामा मौसम अनुकूल रहेकाले पहिलो चार महिनाको अनुपातमा सबैभन्दा बढी पर्यटकले थोरङ्ला पास पदयात्रा गरी मुस्ताङ प्रवेश गरेका हुन् ।
चालु वर्षको असोज ११ गते थोरङ्ला पास क्षेत्रमा भारी हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा अपेक्षा गरिएभन्दा निकै कम पर्यटक मुस्ताङ प्रवेश गरेका थिए ।
मनाङ—मुस्ताङ थोरङ्ला पास पदमार्ग साहसिक पदमार्ग भएकाले विदेशी पर्यटकहरु जोखिमपूर्ण पदयात्रा गर्दै मुस्ताङ भित्रिने गर्छन् । गत असोज ११ गतेको भारी हिमपातले थोरङ्लापास पदमार्ग दुई साता बढी अवरुद्ध हुन पुगेको थियो ।
थोरङलापास पदमार्ग गर्ने अनुकूल समयमा बेमौसमे हिमपात हुँदा मनाङबाट मुस्ताङ आउने पर्यटकको आवागमन रोकिने पुगेको थियो । मनाङबाट मुस्ताङ आउने अवरुद्ध थोरङ्ला पास पदमार्ग सहज गराउन मुस्ताङ र मनाङका पर्यटन व्यवसाय , सुरक्षाकर्मी र सरोकारवालाले हिउँ पन्छाएर पदमार्ग सहज पार्नुभएको थियो ।
राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै थोरङ्ला पास गरी मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकले विश्वकै उच्च हिमाली पदमार्गको अन्नपूर्ण हिमाल र आसपासका हिमशङ्खला अवलोकन गर्ने गर्छन् ।
यो पदमार्गमा हिउँदयाम अघि सेप्टेम्बर, अक्टुबर र नोभेम्बरसम्म थोरङ्लापासा गर्ने पर्यटकको चहलपहल हुने गर्छ । यसैगरी, हिउँदयामपछि अप्रिल, मे र जुनसम्म विदेशी पर्यटकहरु थोरङला पास गरी मुस्ताङ निस्कन्छन् ।