पाकिस्तामा बिहिबार पेट्रोलियम पदार्थको मूल्य करिब ३० रुपियाँ (पाकिस्तानी मुद्रा)ले बढेको छ। उक्त मुल्य बिहिबार मध्यरातदेखि लागू भएको छ।
सरकारी निर्णयअनुसार अब पाकिस्तानमा पेट्रोल १८० रुपियाँ (पाकिस्तान मुद्रा) पर्नेछ भने डिजेलको मूल्य अब १७४ रुपियाँ, मट्टितेल १५६ रुपियाँ पर्नेछ।
आईएमएफ र पाकिस्तान सरकारबीच चलिरहेको वार्ता अघि बढ्न नसकेपछि पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो। पाकिस्तानले देशको घट्दो विदेशी विनिमय समस्या समाधान गर्न आईएमएफसँग वार्ता गरिरहेको छ।
आईएमएफले कुनै पनि सरकारलाई ऋण दिनुअघि राज्यका अनावश्यक खर्च कटौती गर्नुपर्ने सर्त राख्ने गर्छ। आईएमएफले शुरुदेखि नै पाकिस्तानी सरकारले पेट्रोलियम पदार्थमा दिइरहेको विशाल अनुदानप्रति पहिलेदेखि प्रश्न उठाइरहेको थियो । पेट्रोलियम पदार्थको अनुदानमा सरकारले अर्बौं डलर खर्च गर्दै आएको छ।