काठमाडौं- आज २ नोभेम्बर। विश्व इतिहासमा आजको दिन विभिन्न घटना भएका थिए। र, तिनै घटनाले आजको दिन स्मरण पनि गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९१७- बाल्फोर घोषणा
ब्रिटेनका तत्कालीन विदेश मन्त्री आर्थर जेम्स बाल्फोरको तर्फबाट बेरोन रोथ्सचाइल्डले आजकै दिन प्यालेस्टिनको यहुदी राज्यलाई समर्थन गर्ने घोषणा गरेका थिए। यसलाई बाल्फोर घोषणाका रूपमा चिनिन्छ। ब्रिटिस विदेश मन्त्री आर्थरको उक्त पत्रलाई पछि सेव्रेस शान्ति सन्धिसँग जोडिएको थियो।
– सन् १९३०- हेले सेलेससी प्रथम इथियोपियाका सम्राट
इथियोपियामा आजकै दिन हेले सेलेससी प्रथम त्यहाँको सम्राट घोषित भएका थिए। उनी त्यहाँ चलेको रस्ताफारी आन्दोलनका नेतृत्वदायी व्यक्तित्व मानिन्छन्। उनले इथियोपियामा ४४ वर्ष शासन गरे।
– सन् १९३८- क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन स्थापना
क्यानाडाको रेडियो स्टेसन ‘क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन’ ८८ वर्षअघि आजकै दिन स्थापना भएको थियो। उक्त सार्वजनिक सञ्चार माध्यम अहिले सीबीसी रेडियो क्यानाडाको नामले चिनिन्छ।
– सन् १९६४- साउदी अरेबियामा ‘कु’
सन् १९६४ मा आजकै दिन साउदी अरेबियामा ‘कु’ भएको थियो। स्वास्थ्योपचारका लागि विदेश गएका राजा साउदलाई गद्दीच्युत गर्दै उनका सौतेला भाइ बिन अब्दुल अजिज अल साउद त्यहाँका राजा बनेका थिए।
– सन् १९८२- अमेरिकामा मार्टिन लुथर किङ जुनियर दिवस
अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले आजकै दिन मार्टिन लुथर किङ जुनियर दिवस मनाउनेसम्बन्धी विधेयक प्रमाणीकरण गरेका थिए। हरेक वर्ष जनवरीको तेस्रो सोमबार उक्त दिवस मनाइँदै आएको छ। अफ्रिकी-अमेरिकी नागरिकको अधिकार आन्दोलनका नेता थिए, मार्टिन लुथर। उनकै स्मरणमा यो दिवस मनाइन्छ।
– सन् २०००- आईएसएसमा पहिलोपटक पुगे अन्तरिक्ष यात्री
इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस)मा आजकै दिन पहिलोपटक अन्तरिक्ष यात्रीहरूको टोली पुगेको थियो। ४०८ किलोमिटरमाथि तल्लो कक्षमा रहेर निरन्तर पृथ्वीको परिक्रमा गरिरहेको आईएसएस २० नोभेम्बर १९९८ मा प्रक्षेपण गरिएको थियो। त्यसको दुई वर्षपछि अमेरिकी अन्तरिक्ष यात्री विलियम एम. सेफर्ड तथा रुसी अन्तरिक्ष यात्रीहरू युरी पी. गिजेन्को र सर्गेई के. क्रिकालेभले पहिलोपटक आईएसएसमा मानव उपस्थिति जनाएका थिए।
– सन् २०१४- लाहोर बम्बिङमा गयो ६० को ज्यान
सन् २०१४ मा आजकै दिन पाकिस्तानको लाहोरमा आत्मघाति बम हमला भएको थियो। त्यसमा परी ६० जनाको ज्यान गएको थियो भने ११० जना घाइते भएका थिए।
– सन् २०२०- काबुल युनिभर्सिटीमा आतंकवादी आक्रमण
अफगानिस्तानको काबुल विश्वविद्यालयमा आजकै दिन आतंकवादी आक्रमण भएको थियो। हतियारधारीले अन्धाधुन्द गोली बर्साउँदा २२ जनाको ज्यान गएको थियो। उक्त घटनाको जिम्मेवारी अन्तर्राष्ट्रीय आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो।
– सन् २०२४- बेलायती पार्टीमा पहिलो अश्वेत महिला प्रमुख
सन् २०२४ मा आजकै दिन बेलायतको पार्टीमा पहिलोपटक अश्वेत महिला प्रमुख निर्वाचित भएकी थिइन्। केमी बाडनोह नामकी उनी बेलायतको मुख्य दल कन्जरभेटिभ पार्टीको नेता निर्वाचित भएकी थिइन्।