काठमाडौं- आज २० अक्टोबर। विश्व इतिहासका विभिन्न परिघटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९६२- भारत र चीनबीच युद्ध
भारत र चीनबीच आजकै दिन सीमामा युद्ध शुरु भएको थियो। दुई मुलुकबीच जारी सीमा विवाद उत्कर्षमा पुग्दै गर्दा दुवै देशका सेना युद्धमा उत्रिएका थिए। त्यसक्रममा दुवै मुलुकले युद्धको घोषणा गरेनन्। र, कूटनीतिक सम्बन्ध पनि तोडेनन्। चीनले अक्साई चीनमाथि कब्जा गरेर र भारतले त्यसलाई वास्तविक सीमाका रूपमा स्वीकार गरेपछि युद्ध अन्त्य भएको थियो। यसलाई अहिले ‘लाइन अफ कन्ट्रोल’का रूपमा चिनिन्छ।
– सन् १९७३- सिड्नीको ओपेरा हाउस खुला
अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउस आजकै दिन सर्वसाधारणका लागि खुला गरिएको थियो। युनेस्कोले यसलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको छ। ओपेरा हाउसको डिजाइन डेनमार्कका वास्तुविद जोर्न ओबर्ग उत्जोनले गरेका हुन्। मार्च १९५९ मा शुरु भएको यसको निर्माणमा १० करोड डलर खर्च भएको थियो।
– सन् १९८२- रुसमा भागदौडमा ६० मारिए
रुसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा आजकै दिन भएको भागदौडमा परी ६० जनाको ज्यान गएको थियो। रंगशालामा भइरहेको नेदरल्यान्ड्सको क्लब हार्लेम र मस्कोभियन फुटबल क्लब स्पार्टकबीचको खेलको दौरान भागदौड मच्चिएको थियो।
– सन् २०११- मुअम्मर गद्दाफीको हत्या
लिबियाका अपदस्थ नेता मुअम्मर गद्दाफीको आजकै दिन हत्या भएको थियो। सत्ताच्युत भएपछि लुक्दै आएका उनलाई राष्ट्रीय संक्रमणकालीन परिषद फौजले आजकै दिन पक्राउ गरी हत्या गरेको थियो। ७ जुन १९४२ मा जन्मेका उनी सन् १९६९ देखि निरन्तर सत्तामा थिए।
– सन् २०१९- विश्वकै लामो उडान पौने २० घण्टाको
सन् २०१९ मा आजकै दिन अस्ट्रेलियाको राष्ट्रीय ध्वजावाहक क्वान्टास एयरवेजले सबैभन्दा लामो उडानका यसअघिका सबै रेकर्ड तोडेको थियो। उक्त एयरवेजको बोइङ-७८७ ड्रिमलाइनरले अमेरिकाको न्युयोर्कबाट अस्ट्रेलियाको सिडनीसम्म १९ घण्टा ४२ मिनट उडान गरेको थियो। त्यो दुई शहरबीच ननस्टप व्यावसायिक उडानका लागि गरिएको परीक्षण थियो।
– सन् २०२२- लिज ट्रसको छोटो कार्यकाल
सन् २०२२ मा आजकै दिन बेलायतकी तत्कालीन प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी थिइन्। उनी बेलायतको इतिहासमै सबैभन्दा छोटो समय प्रधानमन्त्री रहिन्। जम्मा ४४ दिनमा उनले पदबाट विदा लिइन्।
– सन् २०२३- इन्डोनेसियामा धर्तिकै पुरानो पिरामिड
मानिस निर्मित सबैभन्दा पुरानो पिरामिड इन्डोनेसियामा फेला परेको घोषणा आजकै दिन गरिएको थियो, जसबाट विश्वव्यापी विवाद सिर्जना भएको थियो। इन्डोनेसियाको पश्चिमी जाभास्थित प्राग-ऐतिहासिक स्थल गुनुङ पडाङमा उक्त पिरामिड फेला परेको घोषणा गरिएको थियो। उक्त पिरामिड २७ हजार वर्ष पुरानो भएको दाबी इन्डोनेसियाली पुरातत्त्वविदहरूको छ। इजिप्टको सक्कारास्थित ‘जोसेर स्टेप पिरामिड’लाई विश्वकै पुरानो मानिँदै आएको छ। उक्त पिरामिड २६३० ईशापूर्वमा निर्माण गरिएको बताइने गरेको छ।
– सन् २०२४- इजिप्टबाट मलेरिया निर्मुल
सन् २०२४ मा आजकै दिन विश्व स्वास्थ्य संगठनले इजिप्टबाट मलेरिया निर्मुल भएको घोषणा गरेको थियो। मलेरिया रोगबाट मुक्त हुने इजिप्ट पूर्वी भूमध्य सागरीय तेस्रो र विश्वको ४४औं मुलुक हो।