काठमाडौं- आज १२ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १८७७- थोमस एडिसनद्वारा फोनोग्राफको आविष्कार
सन् १९७७ मा आजकै दिन थोमल एल्वा एडिसनले फोनोग्राफको आविष्कार गरेका थिए। अमेरिकी आविष्कारक उनले सम्भवतः आफ्नो सबैभन्दा मौलिक खोज गरेका थिए।
– सन् १९६१- बर्लिनको पर्खालको निर्माण शुरु
तत्कालीन पूर्वी जर्मनीले आजकै दिन बर्लिनको पर्खालको निर्माण शुरु गरेको थियो। तत्कालीन पश्चिम जर्मनीबाट अलग बन्न उक्त पर्खाल निर्माण गरिएको थियो। यसले अमेरिका र तत्कालीन सोभियत संघबीच लामो समय चलेको शीतयुद्धको प्रतीकको रूप पाएको थियो। सन् १९८९ मा उक्त पर्खाल ढालियो। त्यससँगै दुई जर्मनीबीच एकीकरण भयो। र, मध्य युरोपबाट वामपन्थी शासन पनि अन्त्य भएको थियो। तत्कालीन सोभियत संघको पनि पतनपछि शीतयुद्धको अन्त्य भएको थियो।
– सन् १९७६- प्यालेस्टिनी शरणार्थी शिविरमा ३ हजारको हत्या
सन् १९७६ मा आजकै दिन प्यालेस्टिनको शरणार्थी शिविरमा ३ हजारजनाको हत्या भएको थियो। लेबनानको बेरुतको बाह्य क्षेत्रमा संयुक्त राष्ट्र संघले सञ्चालन गरेको अल-जातर नामक शिविरमा फालंगे नामक दक्षिणपन्थी अतिवादी समूहले आक्रमण गरी नरसंहार मच्चाएको थियो।
– सन् १९८१- पहिलोपटक पसलमा आईबीएम कम्प्युटरको स्टक
सन् १९८१ मा आजकै दिन आईबीएम कम्प्युटरलाई पहिलोपटक पसलहरूमा बिक्रीमा राखिएको थियो। ‘आईबीएम पीसी’ या ‘आईबीएम ५१५०’ नाम दिइएको उक्त कम्प्युटरमा डिस्क ड्राइभ उपलब्ध थिएन। त्यसको मूल्य १ हजार ५०० डलर थियो।
– सन् १९९०- डाइनोसरको विशालकाय अस्थिपञ्जर फेला
सन् १९९० मा आजकै दिन अमेरिकाको साउथ डकोटामा डाइनोसरको विशालकाय अस्थिपञ्जर फेला परेको थियो। अमेरिकाकै जीवाश्म वैज्ञानिक सू हेन्ड्रिक्सनले टाइरेनोसरसको अस्थिपञ्जर फेला पारेका थिए। उक्त डाइनोसर जीवित छँदा १४ फिट लामो रहेको अस्थिपञ्जरको अध्ययनबाट पुष्टि भएको थियो।
– सन् २०२०- यमनको बाढीमा बगे १७२
सन् २०२० मा पश्चिम एसियाली मुलुक यमनमा आएको बाढीका कारण १७२ जनाले ज्यान गुमाएका थिए। अविरल वर्षापछि आएको बाढीबाट राजधानी सानास्थित विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भवनहरू ढलेका थिए।
– सन् २०२१- १५८ वर्षपछि बेन्नु क्षुद्र ग्रह पृथ्वीमा ठोक्किने भविष्यवाणी
सन् २०२१ मा आजकै दिन अमेरिकी अन्तरिक्ष अभियान नासाले बेन्नु नाम दिइएको क्षुद्र ग्रह पृथ्वीमा ठोक्किने भविष्यवाणी गरेको थियो। ओएसआईआरआईएस-आरईएक्स अन्तरिक्ष यानले पठाएको तथ्यांकअनुसार उक्त भविष्यवाणी गरिएको थियो। उक्त क्षुद्र ग्रह न्युयोर्कको एम्पायर स्टेट बिल्डिङको आकारको छ।
– सन् २०२२- बेलायतमा ४६ वर्षयताकै ठूलो खडेरी
सन् २०२२ मा बेलायतमा ४६ वर्षयताकै ठूलो खडेरी परेको थियो। सरकारले देशभर सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। सन् १९७६ मा मात्र बेलायतमा खडेरी परेको थियो।
– सन् २०२२- सलमान रुस्दीमाथि प्राण घातक आक्रमण
बेलायती लेखक सलमान रुस्दीमाथि आजकै दिन अमेरिकामा प्राण घातक आक्रमण भएको थियो। त्यस घटनापछि सघन उपचारका कारण उनी मुस्किलले बाँचेका छन्। न्युयोर्कको चौटोक्वामा स्थानीय इन्स्टिच्युटमा लेक्चर दिइरहेका उनीमाथि मञ्चमै आक्रमण गरिएको थियो। उनको शरीरमा घातक ढंगले बारम्बार चक्कु प्रहार गरिएको थियो।
– सन् २०२५- ६६ वर्षपछि भेटियो अनुसन्धाताको अस्थिपञ्जर
सन् १९५९ मा अन्टार्कटिकामा मृत्यु भएका बेलायती पोलर अनुसन्धाताको अस्थिपञ्जर आजकै दिन ६६ वर्षपछि एक पग्लिँदै गरेको हिमतालमा फेला परेको थियो। उनको नाम डेनिस बेल हो।
– सन् २०२५- ट्रम्पले वासिङ्टनमा तैनाथ गरे ८०० नेसनल गार्ड
सन् २०२५ मा आजकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय राजधानी वासिङ्टन डीसीमा ८०० नेसनल गार्ड परिचालन गरेका थिए। र, वासिङ्टन डीसीको प्रहरीलाई संघीय सरकारको नियन्त्रणमा ल्याएका थिए।