काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब ४ हजार बचतकर्ताको रकम फिर्ता गरिएको जनाएको छ।
समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो।
उनले भने,“हामीसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ। त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको छ।”
सहकारी क्षेत्रमा समस्या किन उत्पन्न भयो र यसको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा समितिले आन्तरिक विश्लेषणसमेत गरेको उनको भनाइ छ। बचत फिर्ताको विषयमा सर्वोच्च अदालतको निर्णय तथा सहकारीसम्बन्धी कानुनी व्यवस्था र बचत फिर्तासम्बन्धी कार्यविधिलाई आधार बनाइएको उनले बताए।
साना बचतकर्तालाई प्राथमिकता दिने नीतिअनुसार पहिलो चरणमा रु १० हजार वा सोभन्दा कम बचत भएका व्यक्तिको रकम फिर्ता गर्ने काम अघि बढाइएको छ। कार्यविधिले प्राथमिकता दिएका ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारको निर्देशिकामा उल्लेख भएका जटिल प्रकृतिका रोगबाट पीडित बचतकर्तालाई प्राथमिकता दिइनेछ।
“हालसम्म विभिन्न सहकारीबाट गरी रु ४२ करोड जम्मा भएको छ। यसमध्ये कान्तिपुर सहकारीबाट मात्रै करिब रु १२ करोड छ। करिब रु एक करोडदेखि १२ करोडसम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैँअघि रकम वितरण गर्न सकिने गरी योजना बनाइरहेका छौँ,” उनले भने।
उनका अनुसार एउटा सम्पत्तिको लिलामीसम्बन्धी सूचना प्रकाशित भइसकेको छ भने करिब ३५० लालपुर्जा संकलन गरिएको छ। ती सम्पत्तिलाई क्रमशः लिलामीमा लैजाने तयारी छ। यी विभिन्न स्रोतबाट रकम सङ्कलन भएपछि कम्तीमा प्रत्येक ६ महिनामा रु एक अर्बभन्दा बढी सङ्कलन भएको अवस्थामा सम्बन्धित बचतकर्तालाई दामासाहीका आधारमा वितरण गर्ने समितिको योजना छ।