काठमाडौं- आज २२ जुलाई। विश्व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९३३- विश्वको पहिलो चौतर्फी उडान
सन् १९३३ मा आजकै दिन अमेरिकी एभिएटर विली पोस्टले विश्वको चौतर्फी उडान गरेर रेकर्ड राखेका थिए। न्युयोर्कको बेनेट फिल्डबाट ७ दिनअघि उडेका उनले सोही ठाउँमा अवतरण गरेर रेकर्ड कायम गरेका थिए। उनले लकहिड भेगा जहाजमा एकल उडान गरेका थिए। ७ दिन १८ घण्टा ४९ मिनटमा उनले २५ हजार ९९ किलोमिटर यात्रा गरेका थिए।
– सन् १९८३- पहिलो एकल हेलिकोप्टर उडानबाट विश्व परिक्रमा
सन् १९८३ मा आजकै दिन अस्ट्रेलियाका डिक स्मिथले हेलिकोप्टरको एकल उडानबाट विश्व परिक्रमा गरेर रेकर्ड राखेका थिए। उनले अगस्ट १९८२ मा यात्रा प्रारम्भ गरेका थिए। र, वर्षदिनपछि पूरा गरेका थिए।
– सन् २००३- सद्दाम हुसेनका २ छोरा र नाति मारिए
सन् २००३ मा आजकै दिन इराकको मोसुल शहरमा अमेरिकी सेनाले गरेको आक्रमणमा इराकका पूर्व तानाशाह सद्दाम हुसेनका २ छोरा उदय र कुसय तथा कुसयका १४ वर्षे छोरा मारिएका थिए। सद्दाम शासनको पतनपछि उनीहरू मोसुलमा लुकेर बसेका थिए।
– सन् २०११- नर्वेमा आतंकवादी आक्रमण
सन् २०११ मा आजकै दिन नर्वेमा आतंकवादी संगठन ‘लोन वुल्फ’ले नरसंहार मच्चाउने उद्देश्यले कार बम आक्रमण गरेको थियो। त्यसमा परी ८ जनाको मृत्यु भयो भने अन्य २०० जना घाइते भए। उक्त समूहले नर्वेको प्रधानमन्त्री कार्यालय बाहिर कार बम विष्फोट गराएको थियो। सोही समूहले उटोया द्विपमा युवाको एक ग्रिष्मकालीन शिविरमा पनि गोलीबारी गरेको थियो, जसमा परी ६९ जना मारिए। दोस्रो विश्वयुद्धयता स्क्यान्डिनेभियाई मुलुकमा भएको यो सबैभन्दा घातक आक्रमण थियो।
– सन् २०१२- चीनमा वर्षाबाट मारिए ७७
सन् २०१२ मा आजकै दिन चीनको राजधानी बेइजिङमा अविरल वर्षाले क्षति पुर्याएको थियो। मुसलधारे वर्षाका कारण त्यहाँ ७७ जना मारिएका थिए।
– सन् २०१३- चीनको भूकम्पमा गयो ८९ को ज्यान
सन् २०१३ मा आजकै दिन चीनको गान्सु प्रान्तमा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसमा परी ८९ जनाको ज्यान गएको थियो भने ५०० जना घाइते भएका थिए। भूकम्पका कारण १ हजार २०० भवन ध्वस्त भएका थिए भने दशौं हजार भवनमा क्षति पुगेको थियो।
– सन् २०२२- मुर्मु बनिन् पहिलो आदिवासी राष्ट्रपति
सन् २०२२ मा आजकै दिन आदिवासी समुदायकी द्रौपदी मुर्मु भारतको राष्ट्रपति निर्वाचित भएकी थिइन्। उनी आदिवासी समुदायबाट भारतको राष्ट्रपति बन्ने पहिलो नेता हुन्। भारतमा राष्ट्रपति पद कार्यकारी होइन, सेरेमोनियल हो।
– सन् २०२४- इथियोपिया पहिरोमा मारिए २२९
सन् २०२४ मा आजकै दिन अफ्रिकी मुलुक इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी २२९ जनाले ज्यान गुमाएका थिए। अविरल वर्षाका कारण आएको पहिरोमा परी उक्त संख्यामा हताहति भएको थियो। दक्षिणी भेगको केन्चो सचा गोज्दी जिल्लामा वर्षा, बाढी र पहिरोले बढी क्षति पुर्याएको थियो।
– सन् २०२५- युक्रेनमा जेलेन्स्की सरकारविरुद्ध विशाल प्रदर्शन
सन् २०२५ मा आजकै दिन युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सरकारविरुद्ध प्रदर्शन भएको थियो। २ वटा भ्रष्टाचारविरोधी निकायलाई राष्ट्रपति जेलेन्स्कीले सरकारी निकाय महान्यायाधीवक्ताको कार्यालय मातहतमा ल्याउने कानूनमा हस्ताक्षर गरेपछि त्यसविरुद्ध नागरिक आन्दोलनमा उत्रिएका थिए। रुसले युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण थालेयता पहिलोपटक सरकारविरुद्ध आन्दोलन भएको थियो।