काठमाडौं- आज १० जुलाई। विश्व इतिहासका अनगिन्ती घटनाले आजको दिनलाई संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९६२- विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण
सन् १९६२ मा आजकै दिन अन्तरिक्षमा विश्वको पहिलो सञ्चार उपग्रह ‘टेल्स्टार’ प्रक्षेपण गरिएको थियो। अमेरिका, बेलायत र फ्रान्सको संयुक्त लगानीमा उक्त उपग्रह निर्माण गरिएको थियो। सोही उपग्रहमार्फत पहिलोपटक तस्बिरहरू टेलिभिजनमा लाइभ प्रसारण भएको थियो।
– सन् १९६७- न्युजिल्यान्डमा नयाँ मुद्रा प्रचलनमा
सन् १९६७ मा आजकै दिन न्युजिल्यान्डले नयाँ मुद्रा प्रचलनमा ल्याएको थियो। त्यतिबेलासम्म न्युजिल्यान्डमा पाउन्ड चल्थ्यो, आजको दिनदेखि डलर प्रचलनमा ल्याइएको थियो।
– सन् १९८५- ग्रिनपिसको पानीजहाज रेन्बो वारियर डुब्यो समुद्रमा
सन् १९८५ मा आजकै दिन ग्रिनपिसको पानीजहाज रेन्बो वारियर न्युजिल्यान्डको समुद्री तटमा डुबेको थियो। घटनामा परी जहाजमा सवार फोटोग्राफर फर्नान्डो परेराको मृत्यु भएको थियो। पछि अनुसन्धानका क्रममा उक्त पानीजहाजमा फ्रान्स सरकारका केही मानिसले बम विष्फोट गराएको खुलेको थियो।
– सन् २०००- नाइजेरियामा मारिए अढाइ सय
सन् २००० मा आजकै दिन अफ्रिकी मुलुक नाइजेरियामा पेट्रोलियम पाइप लाइन विष्फोटमा परी २५० जना गाउँलेको ज्यान गएको थियो। उक्त घटना नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको थियो।
– सन् २०११- १६८ वर्षपछि बन्द भयो बेलायती ट्याब्लोइड
१६८ वर्षदेखि प्रकाशन हुँदै आएको बेलायतको ट्याब्लोइड पत्रिका सन् २०११ मा आजकै दिन बन्द भएको थियो। फोन ह्याकिङ गरेको आरोपपछि व्यवस्थापन समूहले अखबार बन्द गर्ने निर्णय लिएको थियो।
– सन् २०१५- भागदौडमा मारिए २३
सन् २०१५ मा आजकै दिन बंगलादेशमा भागदौडमा परी २३ जनाको ज्यान गएको थियो। बंगलादेशको मैमनसिंहमा भएको घटनामा अन्य ५० जना घाइते भएका थिए।
– सन् २०१९- भेटियो मानिसको सबैभन्दा पुरानो खोपडी
सन् २०१९ मा आजकै दिन आधुनिक मानिसको हालसम्मको सबैभन्दा पुरानो खोपडी भेटिएको खुलासा वैज्ञानिकहरूले गरेका थिए। ग्रिसको दक्षिणस्थित एपिडिमा गुफामा २ लाख १० हजार वर्ष पुरानो खोपडी भेटिएको रिपोर्ट ‘नेचर’मा प्रकाशित भएको थियो।
– सन् २०२३- युरोपमा हिटवेभमा परी मारिए ६१ हजार
सन् २०२२ मा युरोपभर चलेको हिटवेभमा परी ६१ हजारले ज्यान गुमाएको रिपोर्ट आजकै दिन प्रकाशित भएको थियो। ‘नेचर मेडिसिन’मा प्रकाशित उक्त रिपोर्टमा हिटवेभबाट मानव सभ्यतामाथि देखिएको संकट न्यूनीकरणका लागि संसारभरका मुलुकले कुनै काम नगरेकामा आक्रोश व्यक्त गरिएको थियो।
– सन् २०२५- १ करोड डलरमा बिक्यो ह्यान्ड ब्याग
सन् २०२५ मा आजकै दिन एउटा ह्यान्ड ब्याग १ करोड अमेरिकी डलरमा बिक्री भएको थियो। उक्त ओरिजिनल ‘बिर्किन ब्याग’लाई सन् १९८४ मा फ्रेन्च डिजाइन फर्म हर्मिसले गायिका तथा फेसन आइकन जेन बिर्किनका लागि डिजाइन गरेको थियो। यसलाई सीईओ सिंसुके साकिमोटोले १ करोड अमेरिकी डलरमा खरिद गरेको खुलासा भएको थियो। यो हालसम्मकै सर्वाधिक रकममा बिक्री भएको ह्यान्ड ब्याग हो।