काठमाडौं- आज ९ जुलाई। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९५८- लिटुया खाडीको मेगा सुनामी
सन् १९५८ मा आजकै दिन अलास्का नजिकको लिटुया खाडीमा हालसम्मकै अग्लो सुनामी रेकर्ड भएको थियो, जसलाई मेगा सुनामी नाम दिइएको थियो। उक्त सुनामी उठेको लहरको उचाइ १ हजार ७२० फिट रेकर्ड गरिएको थियो। यो हालसम्म विश्व इतिहासमा रेकर्ड गरिएको सबैभन्दा अग्लो लहर हो।
– सन् २००२- अफ्रिकी युनियनको स्थापना
सन् २००२ मा आजकै दिन अफ्रिकी युनियनको स्थापना भएको थियो। इथियोपियाको अदिस अबाबमा भेला भएका अफ्रिकी मुलुकका नेताहरूले उक्त युनियनलाई अन्तिम रूप दिएका थिए। युनियनको प्रथम अध्यक्षमा दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति थाबो एमबेकी चयन भएका थिए।
– सन् २००६- एयरबस-३१० दुर्घटनामा मारिए १२२ जना
सन् २००६ मा आजकै दिन एयरबस-३१० विमान दुर्घटनामा १२२ जनाको ज्यान गएको थियो। साइबिर एयरलाइन्सको उक्त विमान साइबेरियास्थित इकुत्स्क विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको थियो। विमानमा २०० यात्री सवार थिए।
– सन् २०११- साउथ सुडान बन्यो संसारकै कान्छो मुलुक
सन् २०११ मा आजकै दिन दक्षिण सुडान संसारकै कान्छो मुलुक बनेको थियो। उक्त उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानबाट अलग भएको थियो। र, त्यसका लागि दक्षिण सुडानमा गरिएको जनमत संग्रह निर्णायक बनेको थियो। तथापि, स्वतन्त्रतापछि उक्त मुलुक जातीय हिंसा र व्यापक मानव अधिकार उल्लंघनको चक्रमा पिल्सिएको छ।
– सन् २०१४- सुपर टाइफुनले लियो १५१ को ज्यान
सन् २०१४ मा आजकै दिन साउथ चाइना सीमा सुपर टाइफुन आएको थियो। त्यसमा परी १५१ जनाले ज्यान गुमाएका थिए।
– सन् २०१८- संसारकै पुरानो जैविक रंग
सन् २०१८ मा आजकै दिन वैज्ञानिकहरूले चम्किलो गुलाबी रंग संसारको सबैभन्दा पुरानो जैविक रंग भएको घोषणा गरेका थिए। जुन मौरिटानियाको तौदेनी बेसिनमा रहेको १.१ अर्ब वर्ष पुरानो समुद्री सेल चट्टानमा रहेको साना साइनोब्याक्टेरियाले उत्पादन गरेको थियो।
– सन् २०२१- डेथ भ्यालीमा धर्तिकै सर्वाधिक तापक्रम रेकर्ड
अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्यालीमा धर्तिकै सर्वाधिक तापक्रम रेकर्ड भएको थियो। सन् २०२१ मा आजकै दिन डेथ भ्यालीमा ५४.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।
– सन् २०२२- श्रीलंकाको राष्ट्रपति भवनमा घुसे हजारौं प्रदर्शनकारी
सन् २०२२ मा आजकै दिन श्रीलंकाको राष्ट्रपति भवनमा हजारौं प्रदर्शनकारी घुसेका थिए। चरम आर्थिक संकटमा परेको श्रीलंकाको सत्ता त्यसका कारण पदच्युत भएको थियो। प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई राजीनामा गर्न बाध्य बनाएका थिए। त्यस क्रममा प्रधानमन्त्री कार्यालयमा आगजनी पनि गरिएको थियो। राष्ट्रपति राजापाक्षे देश छाडेरै भाग्न बाध्य भएका थिए।
– सन् २०२४- इजरायली आक्रमणमा २९ प्यालेस्टिनीको हत्या
सन् २०२४ मा आजकै दिन इजरायली मिसाइल आक्रमणमा परी २९ जना प्यालेस्टिनीले ज्यान गुमाएका थिए। गाजास्थित विस्थापित व्यक्तिहरू बसेको शिविर र एक विद्यालयमा इजरायलले मिसाइल आक्रमण गरेको थियो।