कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री विक्रमसिंह धामी ले प्रदेश सभाको मध्यरातमा बसेको बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
प्रदेश सभाको बैठक निर्धारित समयभन्दा निकै ढिलो गरी सुरु भएको थियो। बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले सत्ता पक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका थिए। प्रतिपक्षी सांसदहरूले सरकारको रवैयाको विरोध गर्दै बैठक बहिस्कार गरेका थिए।
प्रतिपक्षी दलहरूको बहिस्कारका बाबजुद सभामुखले बैठकलाई निरन्तरता दिएका थिए। त्यसपछि आर्थिक मामिला मन्त्री धामीले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।
सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेशको पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, रोजगार तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाइएको छ। बजेटमाथि अब प्रदेश सभामा छलफल हुने कार्यक्रम रहेको छ।
