काठमाडौं- आज ९ मे। विश्व इतिहासका अनेकन घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनलाई स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्व चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९६०- पहिलो जन्म नियन्त्रण पिललाई मान्यता
सन् १९६० मा आजकै दिन अमेरिकामा पहिलोपटक जन्म नियन्त्रण पिललाई मान्यता दिइएको थियो। अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले ‘इनोभिड’ नामक औषधिलाई प्रयोगको अनुमति दिएको थियो।
– सन् १९६९- ब्राजिलमा सैन्य तानाशाहीविरुद्ध लडाईं शुरु
सन् १९६९ मा आजकै दिन ब्राजिलमा सैन्य तानाशाहीविरुद्ध लडाईं शुरु भएको थियो। वामपन्थी नेता कार्लोस लामार्काले तानाशाही सरकारविरुद्धको युद्धको नेतृत्व गरेका थिए। उनी वाम संगठन ‘भान्गार्डिया पपुलर रिभोलुसिनारिया’का सदस्य थिए। शहरी गुरिल्ला एक्सन विज्ञ उनलाई त्यहाँको सेनाले सन् १९७१ मा हत्या गरेको थियो।
– सन् १९७९- इरानका यहुदी व्यापारीलाई मृत्युदण्ड
सन् १९७९ मा आजकै दिन इरानका यहुदी व्यापारी हबिब इल्गानियनलाई मृत्युदण्ड दिइएको थियो। इरानको अदालतले उनीमाथि इजरायल र जियोनिजमसँग सम्पर्क भएको आरोप लगाएको थियो। उनलाई मृत्युदण्ड दिइएलगत्तै इरानमा रहेका यहुदीहरू ठूलो संख्यामा देश छाडेर हिँडेका थिए।
– सन् २०१२- ब्रान्ड-न्यू सुखोई सुपरजेट दुर्घटना
सन् २०१२ मा आजकै दिन ब्रान्ड-न्यू सुखोई सुपरजेट-१०० दुर्घटनामा परेको थियो। इन्डोनेसियाको पश्चिमी जाभा क्षेत्रमा डेमोन्स्ट्रेसन टुरमा रहेको जहाज माउन्ट सालाकमा दुर्घटनामा परेको थियो। ३७ यात्री र ८ क्रु मेम्बरसहित ४५ जनाको ज्यान गएको थियो। तत्कालीन सोभियत संघको पतनपछि रुसले सन् १९९१ मा उक्त जहाज निर्माण थालेको थियो। पाइलटको गल्तीका कारण दुर्घटना भएको खुलेको थियो।
– सन् २०१८- ७ हजार वर्षअघि नै हेपाटाइटिस बी
वैज्ञानिकहरूले ७ हजार वर्षअघि नै हेपाटाइटिस बीको प्रकोप रहेको तथ्य उजागर गरेका थिए। जर्मनीमा फेला परेको पुरानो मानव अवशेषको परीक्षणबाट उक्त तथ्य पत्ता लागेको थियो।
– सन् २०२३- यौन दुर्व्यवहारमा ट्रम्प दोषी
सन् २०२३ मा आजकै दिन पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार आरोपमा दोषी ठहर भएका थिए। ई. जिन क्यारोलले उनीमाथि यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी थिइन्। न्युयोर्कको एक अदालतले ट्रम्पलाई ५० लाख डलर जरिवाना तिराएको थियो।
– सन् २०२३- इमरान खान पक्राउ
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आजकै दिन त्यहाँका सरकारले पक्राउ गरेको थियो। उनी अद्यापि हिरासतमै छन्। इमरान समर्थक र सुरक्षा फौजबीच भिडन्त भएपछि उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरिएको थियो।
– सन् २०२५- सीसाबाट बनाइयो सुन
सन् २०२५ मा वैज्ञानिकहरूले सीसालाई केही समयका लागि सुनमा परिवर्तन गर्न सफलता पाएका थिए। स्विट्जरल्यान्डको लार्ज हाड्रोनमा केही सेकेन्डका लागि सीसालाई सुनमा परिवर्तन गर्न सफलता मिलेको थियो।