कैलाली । नेपाल राष्ट्र बैंकबाट पहिलो बैंकिङ इजाजत प्राप्त सहकारी नवजीवन सहकारी संस्था लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा नजिकिँदै जाँदा नेतृत्वका लागि असाधारण चासो देखिएको छ। चार वर्षे कार्यकालका लागि हुने नयाँ नेतृत्व चयनमा अध्यक्ष पदमै ७ जना आकांक्षी देखिँदा सहकारीभित्र प्रतिस्पर्धा झन् तीव्र बनेको हो।
सहकारीको साधारण सभा यही जेठ ९ गते शनिबार धनगढीस्थित ओम प्यालेस मा आयोजना हुने तयारी गरिएको छ। हालका अध्यक्ष देव बहादुर बमसहित उपाध्यक्ष चेतराज ओझा, संचालक समिति सदस्यहरू केशव मिश्र, गोपालराज पाठक, गणेश बम, घन बहादुर शाह र उपेन्द्र बिष्ट अध्यक्ष पदका दाबेदारका रूपमा अघि आएका छन्।
करिब ४१ हजार शेयर सदस्य रहेको सहकारीले झन्डै ७ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ। ठूलो सदस्य आधार, उच्च आर्थिक कारोबार र संस्थाको प्रभावका कारण नेतृत्वमा पुग्न आकांक्षीहरूको संख्या बढ्दै गएको विश्लेषण गरिएको छ।
विशेषज्ञहरूका अनुसार सहकारी क्षेत्रमा देखिएको आर्थिक सक्रियता, संस्थागत पहुँच र निर्णय प्रक्रियामा प्रभाव जमाउने अवसरले नेतृत्वप्रति आकर्षण बढाएको हो। यसपटकको निर्वाचनले सहकारीको आगामी दिशा तय गर्ने भएकाले सदस्यहरू पनि उत्तिकै उत्साहित देखिएका छन्।
सहकारीभित्रको यो प्रतिस्पर्धाले एकातर्फ लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने अपेक्षा गरिएको छ भने अर्कोतर्फ सक्षम र दूरदर्शी नेतृत्व चयनको चुनौतीसमेत थपिएको छ।