काठमाडौं- आज १ मार्च। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्व चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १८७२- विश्वको पहिलो राष्ट्रीय निकुञ्ज स्थापना
अमेरिकाको येलोस्टोन नेसनल पार्क विश्वकै पहिलो राष्ट्रीय निकुञ्ज हो, जसको स्थापना आजकै दिन भएको थियो। यसलाई सन् १९७८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो। सन् १८७२ मा अमेरिकी संसद कंग्रेसले राष्ट्रीय निकुञ्जका रूपमा मान्यता दिएको थियो। यो अमेरिकी राज्य मोन्टानामा पर्छ।
– सन् १८९६- रेडियो एक्टिभिटीको आविष्कार
सन् १८९६ मा आजकै दिन हनरी बेकक्विरेलले रेडियो एक्टिभिटीको आविष्कार गरेका थिए। फ्रान्सका भौतिकशास्त्री आफ्नो गलत सिद्धान्तलाई सावित गर्ने क्रममा यो अभूतपूर्व खोजी गरेका थिए। फोस्फोरसेन्ट युरेनियम लवणले सूर्यको प्रकाशलाई अवशोषित गर्ने र त्यसलाई एक्सरेका रूपमा उत्सर्जित गर्ने गरेको उनले पत्ता लगाएका थिए।
– सन् १९३२- एभिएटर चार्ल्स लिन्डबर्गका छोराको अपहरणपछि हत्या
अमेरिकी एभिएटर चार्ल्स लिन्डबर्गका छोराको अपहरणपछि आजकै दिन हत्या गरिएको थियो। यो घटना आधुनिक संसारकै अधिक प्रचारित अपराधमध्ये एक हो। एभिएटर लिन्डबर्ग अमेरिकाका प्रख्यात पाइलट थिए। उनले नै पहिलोपटक न्युयोर्कबाट पेरिससम्मको ननस्टप उडान गराएका थिए।
– सन् १९४७- आईएमएफको स्थापना
अन्तर्राष्ट्रीय मुद्रा कोष (आईएमएफ) आजकै दिन स्थापना भएको हो। सदस्य मुलुकहरूको अर्थतन्त्र मजबुत बनाउने उद्देश्यले यसको स्थापना भएको थियो। पछिल्ला दिनमा तानाशाही व्यवस्थालाई समर्थन गरेको तथा पर्यावरणमा नकारात्मक प्रभाव पारेको आरोप आईएमएफमाथि लाग्दै आएको छ। र, पछिल्ला वर्षमा आईएमएफको भूमिका कमजोर देखिँदै गएको छ।
– सन् १९९५- इन्टरनेट जायन्ट याहु बन्यो निगम
इन्टरनेट जायन्ट याहु आजकै दिन निगम बनेको थियो। यो कम्पनीको स्थापना जनवरी १९९४ मा जेरी याङ र डेभिड फिलोले गरेका थिए। अन्य प्रतिस्पर्धी कम्पनी उच्चतातिर अगाडि बढ्दा याहु बन्द भइसकेको छ।
– सन् १९९८- ‘टाइटानिक’ले कमायो १ अर्ब डलर
सन् १९९८ मा आजकै दिन हलिउड फिल्म ‘टाइटानिक’ले १ अर्ब डलर कमाएको घोषणा गरिएको थियो। जेम्स क्यामरुनको यो फिल्म समुद्रमा डुबेको पानीजहाज ‘टाइटानिक’को कथामा आधारित छ। २० करोड डलरमा निर्मित उक्त फिल्मले हालसम्म २ अर्ब डलरभन्दा बढी आर्जन गरिसकेको छ।
– सन् २०१४- चीनमा चक्कु आतंक
सन् २०१४ मा चीनको कुन्मिङस्थित रेल स्टेसनमा आतंककारी समूहले चक्कु आतंक सिर्जना गरेको थियो। त्यस क्रममा चक्कु प्रहारबाट २९ जनाको हत्या गरिएको थियो भने १३० जना घाइते भएका थिए।
– सन् २०२१- फ्रान्सका राष्ट्रपतिलाई ३ वर्षको जेल
सन् २०२१ मा आजकै दिन फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। एक न्यायाधीशलाई घुस दिने प्रयास गरेको अभियोगमा उनलाई दण्डित गरिएको थियो।
– सन् २०२३- टिकटकमा किशोर-किशोरीलाई १ घण्टा मात्र
सन् २०२३ मा चीनको सामाजिक सञ्जाल टिकटकमा १८ वर्षभन्दा कम उमेरका किशोर-किशोरीलाई दैनिक स्क्रिन समय ६० मिनटमा सीमित गरिएको थियो। टिकटकका कारण लागू पदार्थको लत तथा हानिकारक एल्गोरिदमका बारेमा चिन्ता व्यक्त भएपछि उक्त निर्णय लिइएको थियो।