रौतहट- जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
Advertisement
गौर नगरपालिका–६ सवगढामा सहमतिविपरीत पुनः दुई समुदायबिच झडप भई अवस्था तनावग्रस्त बनेको हो। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान करिब ९ बजेदेखि ढुङ्गा–मुढा सुरु भएको थियो।
झडप चर्किँदै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।