काठमाडौं- आज १६ फेब्रुअरी। विश्व इतिहासका अनगिन्ती घटना जोडिन्छन्, आजको दिनसँग। प्रस्तुत छ, विश्वव्यापी सञ्चारित भएका केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९२३- खोलियो फारो तुतनखामुनको चिहान
सन् १९२३ मा आजकै दिन प्राचीन मिश्रका राजा तुतनखामुनको चिहान खोलिएको थियो। उनी प्राचीन मिश्रका १८औं अन्तिम पूर्व फारो थिए। उनको निधनसँगै उक्त राजवंशको समाप्ति भएको थियो। होवार्ड कार्टरले गरेको यो पुरातात्त्विक खोजी विश्वका सबैभन्दा प्रसिद्ध खोजमध्ये एक हो। ‘श्रापित तुतनखामुन’को मिथकका कारण उनको चिहान कक्षमा कोही प्रवेश गर्न सकेको थिएन। लर्ड कार्नार्भोनपछि उनको चिहान कक्षमा प्रवेश गर्ने पहिलो व्यक्ति थिए, कार्टर।
– सन् १९५९- फिडेल क्यास्ट्रो बने क्युबाका प्रधानमन्त्री
स्वर्गीय फिडेल क्यास्ट्रो आजकै दिन क्युबाका प्रधानमन्त्री नियुक्त भएका थिए। उनी सत्तामा आउनासाथ ‘२६ जुलाई आन्दोलन’मार्फत क्युबाका तानाशाह फुल्गेन्सियो बतिस्तालाई सत्ताच्युत गरिएको थियो। उक्त आन्दोलनलाई क्युबा क्रान्तिका रूपमा चिनिन्छ। क्यास्ट्रो सन् १९७६ सम्म प्रधानमन्त्री रहे भने १९७६ देखि २००८ सम्म राष्ट्रपति बने। त्यसपछि सत्ता त्याग गरेका उनको २५ नोभेम्बर २०१६ मा निधन भयो। उनको नेतृत्वमा क्युबा एक पार्टी कम्युनिस्ट मुलुकमा रूपमा रह्यो।
– सन् १९८५- हेज्बोल्लाहको स्थापना
सन् १९८५ मा आजकै दिन लेबनानको हेज्बोल्लाह समूहको स्थापना भएको थियो। लेबनानीहरू यसलाई राजनीतिक दल मान्छन्। तर, इजरायलसहित उसका समर्थक पश्चिमा मुलुकले यसलाई आतंकवादी संगठन मान्छन्। यो एक लडाकु समूह हो, जो इजरायलविरुद्ध लडिरहेको छ।
– सन् २००५- क्योटो प्रोटोकल कार्यान्वयनमा
ग्रिन हाउस ग्यास उत्सर्जन घटाउनेसम्बन्धी क्योटो प्रोटोकल आजकै दिनदेखि कार्यान्वयनमा गएको हो। जापानको क्योटोमा आयोजित विश्व सम्मेलनमा यस प्रोटोकलमा हस्ताक्षर भएकाले त्यसको नामकरण पनि क्योटो शहरकै नाममा गरिएको हो। सम्मेलनको खास नाम ‘युनाइटेड नेसन्स कन्भेन्सन अन क्लाइमेट चेन्ज’ थियो। अमेरिकाले भने क्योटो प्रोटोकलमा हस्ताक्षर गरेन। हालसम्म १९१ वटा मुलुकले यसमा हस्ताक्षर गरेका छन्। ११ डिसेम्बर १९९७ मा हस्ताक्षर शुरु भएको क्योटो प्रोटोकल सन् २००५ देखि कार्यान्वयनमा आएको हो।
– सन् २०१८- १९ वर्षमा मारिए १ लाख ओराङगुटान
सन् २०१८ मा आजकै दिन १९ वर्षमा १ लाख ओराङगुटान बाँदर मारिएको खुलासा भएको थियो। बोर्नियो खाडी आसपास शिकारीहरूले बाँदरको उक्त प्रजाति मारेको ‘करेन्ट बायोलोजी’मा प्रकाशित अध्ययन रिपोर्टमा उल्लेख थियो।
– सन् २०२०- अमेरिकाले जापानबाट उद्धार गर्यो ४०० नागरिकलाई
कोभिड-१९ महामारीका कारण जापानमा रोकिएका आफ्ना ४०० नागरिकलाई अमेरिकाले आजकै दिन उद्धार गरेर स्वदेश फर्काएको थियो। उनीहरू जापानको योकोहामा बन्दरगाहमा ‘डायमन्ड प्रिन्सेस’ नामक पानीजहाजमा क्वारेन्टिनमा राखिएका थिए।
– सन् २०२४- ट्रम्पलाई साढे ३५ करोड डलर जरिवाना
सन् २०२४ मा आजकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३५ करोड ४० लाख डलर जरिवाना तिराइएको थियो। न्युयोर्कमा सिभिल फ्रड मुद्दामा उनी र उनको संस्थालाई उक्त रकम जरिवाना तिराइएको हो। यो न्युयोर्कको सबैभन्दा कर्पोरेट कारवाही थियो।