वाक्कदिक्क भएका जनता
जम्मा भएको देखेर
सत्ताका ठेकेदारहरूको सातो गएको छ !
चुनाव जितेर महँगो गाडीमा
चढ्नु नै गणतन्त्रको उपलब्धि ठान्नेहरूलाई
नालायक आसेपासेलाई नियुक्ति दिनु नै
आफ्नो हैकम ठान्नेहरूलाई
पैसाबाहेक केही नबुझ्नेहरूलाई
जनताको पीडाबारे के थाहा ?
आफ्ना महलको चौघेरालाई नै
देश ठान्नेलाई
भुईंमान्छेको दैनिकीबारे के मतलब ?
एयरपोर्टको भीडको मनोभाव नबुझ्नेले
सरकारी कार्यालयमा दिइने
दुःखबारे बुझ्न नचाहनेलाई
यो भीड आफ्नो दुश्मन नै लाग्ने छ !
आफ्नो भजन गाउने भीडमा रमाउनेलाई
काम गर्ने हैन कि आफ्नो स्तुतीगान
गाउनेलाई जिम्मेवारी दिनेलाई
धम्क्याउनेबाहेक के नै थाहा ?
व्यापार सुकेको छ
व्यापारी बाटोमा पुगेका छन्
कलेज तिम्रा राजनीतिका
अड्डा भएका छन्
राष्ट्र सेवक जनताका सेवक होइनन्
चारतारे, हँसिया हथौडाका
सेवक बनेका छन्
जनताका सेवक भनाउँदा
दलालका कारिन्दा भएका छन्
निमुखा जनता तर्साउन
निकाल तिम्रा कार्यकर्ताको जुलुस
लगाऊ साइबर सेनालाई धम्क्याउन
तिम्रो लुटतन्त्रको सत्ता जो जोगाउनु छ
दाइलाई बडाकाजी जो बनाउनु छ !