नयाँदिल्ली- चुरोटको हरेक खिल्लीको सेवनमा जिन्दगीको २० मिनट घटाउने निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन्।
युनिभर्सिटी कलेज, लन्डनको पछिल्लो अध्ययनले उक्त निष्कर्ष दिएको हो। अध्ययनअनुसार एक खिल्ली चुरोट सेवन गर्दा महिलाको जिन्दगीको २२ मिनट र पुरुषको १७ मिनट घट्छ। औसतमा यो २० मिनट हुन्छ।
यदि दैनिक कसैले १० खिल्ली चुरोट पिउँछ भने उसको जीवनको ३ घण्टा २० मिनट कम हुन्छ।
यसअघि यसको गणना सन् २००० मा प्रकाशित युनिभर्सिटी अफ क्यालिफोर्नियाको अध्ययनका आधारमा गरिँदै आएको थियो। उक्त अध्ययनले एक खिल्ली चुरोटले जिन्दगीको ११ मिनट घटाउने निष्कर्ष निकालेको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार चुरोट तानेकै कारण संसारका ८० लाखभन्दा मानिसको बर्सेनि अल्पायुमै मृत्यु हुन्छ। त्यसैले चुरोटको लत छाड्न ढिलाइ नगर्न आग्रह गरेका छन्। चिकित्सकहरूका अनुसार चुरोट छोड्नासाथ हाम्रो शरीरले रिकभरी शुरु गर्छ। र, ढिलो नै सही, त्यसको सकारात्मक परिणाम आउँछ नै।
चुरोटले घटाउँदै छ जीवन
– एक खिल्ली चुरोटले औसतमा २० मिनट जीवन कम गराउँछ
– दैनिक १० चुरोट पिउँदा ३ घण्टा २० मिनट जीवन घट्छ
– त्यस हिसाबले हरेक साता २३ घण्टा ३३ मिनट जीवन कम भइरहेको हुन्छ
– र, हरेक वर्ष जिन्दगीको ५० दिन कम हुन्छ
– अनि, १० वर्षमा ५०० दिन जीवन घट्छ
चुरोट छोड्दा कति बढ्छ त ?
– एक खिल्ली चुरोट नपिउँदा २० मिनट जीवन सञ्चय हुन्छ
– दैनिक १० खिल्ली चुरोट नपिउँदा ३ घण्टा २० मिनट बच्छ
– हरेक साता २३ घण्टा ३३ मिनट जीवन सञ्चय हुन्छ
– बर्सेनि ५० दिन जीवन सञ्चित हुन्छ
– र, १० वर्षमा ५०० दिन जीवन सञ्चय हुन्छ=