नयाँदिल्ली- चिकित्सकहरूका अनुसार थाइराइड लागेका एक तिहाइ मानिसलाई त्यस रोगबारे जानकारी नै हुँदैन। आफू थाइराइडबाट पीडित रहेको पत्तो नै पाउँदैनन् उनीहरूले।
थाइराइडको समस्या बढी महिलामा पाइएको छ। गर्भावस्था र डेलिभरीको करिब तीन महिनाअघि करिब ४४ प्रतिशत महिलामा थाइराइडको समस्या शुरु हुन्छ।
थाइराइड गर्धनको नजिक एकदमै सानो आकारको ग्रन्थी हो। यो ग्रन्थीले मुटु, दिमाग र शरीरका अन्य अंगलाई सही तरिकाबाट सञ्चालनका लागि आवश्यक हर्मोन उत्पन्न गर्छ।
यो ग्रन्थीले शरीरलाई ऊर्जा उत्पन्न गर्न मद्दत गर्छ। र, शरीरलाई न्यानो बनाउन त्यो ऊर्जाको विशेष महत्त्व हुन्छ। चिकित्सकहरूले यसलाई शरीरको ब्याट्री संज्ञा पनि दिने गरेका छन्। यही ग्रन्थीले आवश्यकताभन्दा बढी हर्मोन उत्पादन गर्न थाल्यो भने थाइराइडको समस्या शुरु हुन्छ।
थाइराइड ग्रन्थीले शरीरका लागि पर्याप्त ऊर्जा उत्पादन गर्न सकेन भने त्यसलाई ‘हाइपो-थाइराइडिजम’ भनिन्छ। यो एक प्रकारले कुनै खेलौनामा ब्याट्री सकिएजस्तो अवस्था हो।
त्यस्तो अवस्थामा शरीर पहिलेझैं सक्रिय रहँदैन र रोगबाट छिटो थाक्छ। यसमा थाइराइड ग्रन्थीबाट ट्राई आयोडिन थाइरोक्सिन अर्थात् टी-३ र थाइराक्सिन अर्थात् टी-४ हर्मोन निस्किन कम हुन्छ। र, टीएसएच अर्थात् थाइराइड स्टिमुलेटिङ हर्मोन बढ्छ।
यो ग्रन्थीले ज्यादा हर्मोन उत्पन्न गर्न थाल्यो भने त्यसलाई ‘हाइपर थाइराइडिजम’ भनिन्छ। यस्तो अवस्थामा मानिस अत्यधिक क्याफिन लिएको अवस्थाजस्तोमा हुन्छ। तेस्रो अवस्था ग्रन्थी सुन्निने हुन्छ। त्यस्तो अवस्थामा अपरेसन नै गर्नुपर्ने हुन सक्छ।
हाइपो थाइराइडको लक्षण तौल बढ्नु, अनुहार र खुट्टा सुन्निनु, कमजोरी, आलश्य, भोक नलाग्ने, धेरै निद्रा लाग्ने, साह्रै जाडो महशुस हुने, महिलाको महिनावारी चक्र गडबड हुने, कपाल झर्ने र गर्भधारणमा समस्या आउने हुन्छ।
हाइपर थाइराइडमा भने भोक लाग्ने तर पर्याप्त खाँदा पनि शरीरको तौल घट्ने हुन्छ। बेचैन रहने, हातखुट्टा काँप्ने र गर्मी ज्यादा हुन्छ। मुटुको धडकनमा पनि उतारचढाव हुने गर्छ। आँखा भने कमजोर हुन थाल्छन्।
ग्रन्थीले सही ढंगले काम गरेको छ कि छैन भन्ने थाहा पाउन थाइराइड प्रोफाइल जाँच गर्नुपर्छ। त्यसमा टी-३, टी-४ र टीएसएचजस्ता हर्मोनको स्तर आकलन गरिन्छ।
यदि हाइपो-थाइराइडिजम समयमा पहिचान भएन भने दिमागमा समस्या उत्पन्न हुन्छ। यस्तै, हाइपर-थाइराइडिजमको समयमा पहिचान नहुँदा मुटुको धडकनमा गडबडी हुन थाल्छ।
हाइपो-थाइराइडिजमका कारण सोडियमको स्तर तल झर्छ र बिरामी कोमामा जान सक्छ। त्यस्तो बिरामीबाट जन्मेका बच्चाको आईक्यू लेभल कमजोर हुन्छ। कहिलेकाहीं थाइराइडले पनि मानिसको ज्यान लिन सक्छ।
थाइराइडका १०० जना बिरामी महिलामध्ये ४ जनामा थाइराइड क्यान्सरको जोखिम हुन सक्छ। समयमै पत्ता लाग्यो भने थाइराइडको क्यान्सरको उपचार सम्भव छ।
थाइराइडको क्यान्सरमा घाँटीमा गाँठो देखिने, सास लिन समस्या हुने हुन्छ। यस्ता लक्षण देखिएमा तत्काल नाक, कान, घाँटी रोग विशेषज्ञलाई देखाउनु पर्छ।
गर्भवतीलाई अक्सर सब-क्लिनिकल हाइपो-थाइराइजिम हुन्छ। र, गर्भावस्थामा टीएसएचको लेभल बढ्छ। जीवनशैलीमा परिवर्तन ल्याएर थाइराइड नियन्त्रणमा राख्न सकिन्छ। त्यसका लागि सन्तुलित खाना खानुपर्छ। खानामा फलफूल, सागपात र अण्डा लिनु आवश्यक हुन्छ।
आयोडिन थाइराइडका लागि महत्त्वपूर्ण हुन्छ। आयोडिनले हर्मोन बनाउन मद्दत गर्छ। त्यसबाहेक चामल, माछामासु र सागसब्जीमार्फत सेलेनियम, थाइराइड एन्जाइम प्राप्त हुन्छ। चिकित्सकहरूले फाइबर ज्यादा हुने कम्प्लेक्स कार्बोहाइड्रेडयुक्त खाना खान सल्लाह दिने गरेका छन्। अनाज, सागसब्जी र फलफूलमा अत्यधिक फाइबर हुन्छ।
त्यसबाहेक हाइपो-थाइराइडिजममा मेटाबोलिजमको दर कम गर्न जगिङ, रनिङ, ब्रिस्क वाक, ट्रेड मिलमा दौडिने र कार्डियो एक्सर्साइज गर्न चिकित्सकले सल्लाह दिने गरेका छन्। पोलिस गरिएको चामल, फाइबर नभएका खाद्य पदार्थ र मैदा खानु हुँदैन। यस्तै, पर्याप्त निद्रा पुग्दा पनि थाइराइड नियन्त्रणमा रहन्छ। प्रिजर्भ र प्याकेज खानेकुराबाट पनि टाढा रहनुपर्छ।
भास्कर डट कमबाट