काठमाडौं- मर्निङ वाक हाम्रो शरीरलाई स्फूर्त राख्न अत्यावश्यक हुन्छ। तथापि, जाडोयाममा मर्निङ वाक प्राण घातक पनि हुन सक्छ।
जाडोमा मर्निङ वाक गर्दै हुनुहुन्छ भने घाम लागेर तापक्रम हल्का बढेपछि मात्रै घरबाट निस्कनुपर्छ।
शरीरलाई न्यानो बनाइराख्न बाहिर निस्कँदा पर्याप्त कपडा लगाउनुपर्छ। मर्निङ वाकबाट फर्कंदा पसिनाले कपडा भिजेको हुन्छ। त्यसलाई परिवर्तन गर्नुपर्छ। शरीरबाट पसिना पुछ्नुपर्छ।
बिहानै ५-६ बजे वाकमा निस्कने गल्ती नगर्नूस्। त्यसो गर्दा चिसोले उल्टै विभिन्न समस्या निम्त्याउँछ। दीर्घरोगीहरूका लागि त यो झनै घातक छ। बिहानै निस्कँदा ब्लडप्रेसर हाई हुने सम्भावना हुन्छ। प्यारालाइसिस, हर्टअट्याक हुन सक्छ।
मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायत समस्या देखिन सक्छ। कतिपय पुराना रोगहरू पनि बल्झन सक्छन्। चिसोले एलर्जीसमेत हुन सक्छ। यस्तै, कुहिरो लागेको बेला मर्निङ वाकमा निस्कनु हुँदैन। धुलोका कण माथि-माथि हुन्छन् र ती शरीरमा प्रवेश गर्न सक्छ, जसले स्वास्थ्यमा नकारात्मक असर बढी हुन सक्छ।
मर्निङ वाक भर्खरै थाल्नुभएको छ भने धेरै लामो यात्रा नगर्नूस्। शुरुवातमा २० देखि ३० मिनटको हिँडाइ नै पर्याप्त हुन्छ। विस्तारै समय बढाउँदै जानुपर्छ। एकै दिन धेरै हिँड्नु हुँदैन। सातामा सातै दिन वाकमा निस्कनुपर्छ भन्ने छैन। पाँच दिन वाक गर्नु राम्रो मानिन्छ।
मर्निङ वाक गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ। मर्निङ वाक जथाभावी गर्दा ड्रेस मिलेन, सुज साइजहरू मिलेनन् भने फाइदाभन्दा हानी बढी हुन्छ, जसले शरीरमा नकारात्मक प्रभाव पार्छ।