काठमाडौं- जाडोको मौसम छ। चिसोबाट बच्न घर वा अफिसमा हिटर बालेर कोठा न्यानो बनाउने प्रयत्न गरिन्छ। तर, कहिलेकाहीं असावधानीका कारण मानिसको ज्यानै पनि जान सक्छ।
यस्तै, नुहाउन पानी तताउने उद्देश्यले बाथरुममा गिजरको प्रयोग अत्यधिक हुने गर्छ। त्यसले पनि कहिलेकाहीं दुर्घटना निम्त्याउँछ। र, मानिसको ज्यानै लिन्छ।
त्यसैले जाडोयाममा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानीहरू अपनाउनुपर्छ। जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायत उपायहरू गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाऔं।
– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौं
– कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं
– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौं
– आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौ
– हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं
– सुत्नुअघि अनिवार्य हिटर निभाउने गरौं
– गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गरौं
– गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौ