नयाँदिल्ली- वैज्ञानिकहरूले एचआईभी/एड्सविरुद्ध खोप तयार भएको दाबी गरेका छन्। र, त्यो ९६ प्रतिशत प्रभावकारी देखिएको उनीहरूको दाबी छ।
ह्युम इम्युनोडेफिसिन्सी भाइरस (एचआईभी) एक खतरनाक भाइरस हो। लामो समयदेखि यस भाइरसविरुद्ध खोप तयार पार्न चिकित्सक र वैज्ञानिकहरू जुटेका छन्।
सोही प्रयत्नमा ठूलो सफलता हासिल भएको वैज्ञानिकहरूले बताएका हुन्। ‘लेनाकापाविर’ नाम दिइएको उक्त खोपले एचआईभी संक्रमण रोक्न ९६ प्रतिशत सफलता हासिल गरेको वैज्ञानिकहरूको भनाइ छ।
बर्सेनि यस खोपको दुई डोज लिने व्यक्तिहरू एचआईभी संक्रमणको जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहने वैज्ञानिकहरूले बताएका छन्।
अमेरिकी बायोफर्मास्युटिकल कम्पनी ‘गिलियाड’ले जारी गरेको तथा ‘न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित तथ्यांकअनुसार लेनकापाविर खोपको तेस्रो चरणको परीक्षणमा इन्फेक्सन रोक्न शतप्रतिशतसम्म प्रभावकारी पाइएको छ। दक्षिण अफ्रिका र युगान्डाका ५ हजार महिलामा यो खोपको सफल परीक्षण भएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ मा करिब ४ करोड मानिसमा एचआईभी संक्रमण पाइएको थियो। र, ६ लाख ३० हजार जनाले उक्त वर्ष एचआई संक्रमणकै कारण मृत्युवरण गरेका थिए।
एक अनौपचारिक आँकडाअनुसार एचआईभी संक्रमण पत्ता लागेयता विश्वभर हालसम्म ८ करोड ८४ लाखभन्दा बढी मानिस यसको चपेटामा आइसकेका छन्। र, हालसम्म ४ करोड २३ लाख मानिस एड्सकै कारण मृत्युको शिकार भइसकेका छन्।
असुरक्षित यौन सम्बन्ध, संक्रमित व्यक्तिको रगत, उपचार क्रममा प्रयोग हुने सुई र सिरिन्ज सेयर गर्दा, एकै सुईबाट धेरै व्यक्तिको ट्याटु बनाउँदा, संक्रमित व्यक्तिको रेजर र टुथब्रस सेयर गर्दा र एचआईभी संक्रमित आमाबाट बच्चामा एड्स सर्ने खतरा हुन्छ।
समय-समयमा एचआईभी परीक्षण, सम्भोगको दौरान कन्डोम प्रयोग गरेर, सेभिङका लागि नयाँ ब्लेड प्रयोग गरेर, पुराना र प्रयोग भइसकेका निडलबाट ट्याटु नबनाएर, संक्रमित आमाको डेलिभरीको समयमा एन्टी-रेट्रोभाइरल थेरापी दिएर, एचआईभी संक्रमित आमाको दूध शिशुलाई नखुवाएर तथा हरेक रक्त परीक्षण र इन्जेक्सन लगाउँदा सधैं नयाँ सिरिन्ज र निडल प्रयोग गरेर यसबाट बच्न सकिन्छ।
भास्कर डट कमबाट