आमा मलाई खुब पैसा कमाउने मन छ
त्यसैले राजनीतिमा जाने मन छ
Advertisement
जनतालाई नोकर बनाई
आफू राजा हुने मन छ
तिमीलाई ठूलो घरमा राख्ने र
पजेरोमा घुमाउने मन छ
टपरीमा खाएको बिर्सिएर
सुनको थालमा भात खाने मन छ
गाउँबाट आउँदा लगाएको फाटेको पाइन्ट
च्यातिएको चप्पल लुकाउने मन छ
आसेपासेलाई जागिर
चाकरेलाई नियुक्ति दिने मन छ
नीति आफूलाई सजिलो हुने
कानून चोर्न मिल्ने बनाउने मन छ
विदेशी बैंकमा खाता खोली
पैसा ढुसी लगाएर राख्न मन छ
अरूको कम्पनीको
सेयर सित्तैंमा कब्जा गर्ने मन छ
श्रीमती सुनकेसरी मैयाँ
भएको हेर्ने मन छ
नालायक छोरालाई पैसा
तह लाउने व्यापारी बनाउने मन छ
अरूले थाहा नपाउने गरी
आफ्नो अतीत लुकाउने मन छ
अरूलाई झ्यालखाना पठाई
आफ्नो लुटको बजार चलाइराख्ने मन छ
आमा मलाई खुब पैसा कमाउने मन छ
त्यसैले राजनीतिमा जाने मन छ