काठमाडौँ । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सुवासराज काफ्ले नेतृत्वको जन समाजवादी पार्टी नेपालबीच आगामी वैशाख ३० गते हुने चुनावमा तालमेल गर्ने सहमति भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको घोषणा गरिएको हो । दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्ह प्रयोग गरी आगामी स्थानीय तह निर्वाचनमा भाग लिने, दुवै पार्टीको सहमतिमा उम्मेदवार खडा गर्ने र एक पार्टीका उम्मेदवारलाई अर्को पार्टीले सघाउने सहमति भएको छ ।
त्यस्तै, दुवै पार्टीका अध्यक्षको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन निर्देशन समिति गठन गर्ने पनि अर्को महत्वपूर्ण सहमति भएको छ । दुवै पार्टीका पदाधिकारी रहने गरी निर्वाचन परिचालन संयुक्त कार्यदल गठन गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीले राष्ट्रघाती पाँच दलको गठबन्धनविरुद्ध दुई पार्टीबीच चुनावी तालमेल भएको बताए । पाँच दलको गठबन्धनलाई राष्ट्रघातीको संज्ञा दिँदै बुढाथोकीले राष्ट्रघाती गठबन्धनविरुद्ध आफूले चुनावी तालमेलको सुरुवात गरेको र आफूको विजयी सुनिश्चित् रहेको दाबी गरे ।
उनले आफ्नो पार्टी र जनसमाजवादी पार्टी नेपालले जनताको पक्षमा निरन्तर काम गर्दै आएको स्मरण गराए । दुवै पार्टीले क्रान्तिकारी इतिहास बोकेको उनको भनाइ थियो । अब दुई पार्टी गठबन्धन गरेर प्रतिबद्धतासहित जनतासामु जान लागिएको र यसले जनतामा उत्साह थप्ने पनि उनले विश्वास दिलाए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टबीच एकता नहोस् भनेर पाँच दलीय गठबन्धन गरेकोसमेत अध्यक्ष बुढाथोकीले टिप्पणी गरे । उनले अब छिट्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वैज्ञानिक समाजवादको लागि एकता गर्ने पनि जानकारी दिए ।
यसैगरी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष काफ्लेले देशमा राष्ट्रघाती र राष्ट्रवादी गरेर दुई पक्ष भएको उल्लेख गर्दै आफूहरू राष्ट्रवादी कित्तामा उभिएको बताए । उनले दुई पार्टीबीचको गठबन्धन अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक हुने पनि बताए ।