बडका भलमन्साले
भतिज ठग्गालाई बोलाए र भने-
भतिज मलाई सत्ताको घोडा दौडाउने
इच्छा जागेर आयो
ठूलो घरमा बस्ने भनी
तिम्री काकी पनि जिद्दी गर्दैछे
ब्युटी पार्लरमा कपाल मिलाउने
अनुहार चम्काउने पनि मन छ रे
अहिलेकाले पनि उनीपछि
मैले नै देश चलाउनुपर्छ
भनी राखेका छन्
भतिज गाउँमा फुर्सत भएका
आफन्तको नाम सम्झी राख
सबैलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्ला
ज्वाईंलाई राजदूत, सालालाई अध्यक्ष
तँ दुई पढेकै छस्
मेरो मुख्य सहयोगी र सल्लाकार तँ नै हो
ठग्गाले भने- काका तिमी बुढो भयौ
बोलेको बुझिँदैन, कान पनि सुन्दैनौ
सम्झने क्षमता पनि कमजोर छ
हिँड्दा त लगलग काँप्छौ काका
कसरी सत्ता चलाउँछौ ?
यहाँ सत्ता चलाउनलाई केही चाहिँदैन
के गर्नुपर्छ सिकाउने विदेशी साथीहरू छन्
देशभित्र दलालहरूको कमी छ र ?
चलिहाल्छ कसले के गरेको छ ?
मलाई जापानमा उपचार पनि गर्नुछ
तेरी काकीलाई दर्शन खान
कालो गाडी चढ्ने मन छ
आफन्तको हुल बोकी
अमेरिका, बेलायत पनि घुम्ने मन छ
अरूले के गरे मैले त्यै गर्ने हो
देश चलिरहेछ
यस्तै चलिरहने छ