आफ्नो अगाडिको भीड देखेर
सत्ताको मात चढेका
महामहिमको जिब्रो सल्बलायो
र महामहिमले फरमान जारी गरे
Advertisement
पुलिसका आईजीपीको
जिब्रो थुतिदिन्छु भनेर
अहिले सत्ताको मात चढेको
नेपालमा ठूलो जिब्रोले सानो जिब्रो
थुत्न के ठूलो कुरा भयो र !
यो भनाइ नेपालभरिका
जिब्रोलाई चित्त बुझेन
र सबै जिब्रोले विरोधका स्वर निकाले
जथाभावी बोल्ने जिब्रो
नियन्त्रण गर्ने अधिकार पाएका
प्रहरी प्रमुखको जिब्रो थुत्न पाइन्छ ?
मनलाग्दी जिब्रो चलाउन पाइन्छ ?
आफ्नो पदीय हैसियत नबुझेका
यस्ता पीपलपाते जिब्रोलाई
नियन्त्रण गर्नुपर्छ
सरकारको बोली बोल्ने अधिकार
यस जिब्रोबाट थुत्नुपर्छ !