काठमाडौं- आज २७ अगस्ट। विश्व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् २००३- मंगल ग्रह पृथ्वीको सर्वाधिक निकट
सन् २००३ मा आजकै दिन मंगल ग्रह पृथ्वीको सर्वाधिक निकट आएको थियो। उक्त घटना ५७ हजार ६१७ ईसा पूर्वपछि पहिलोपटक भएको हो। र, २६३ वर्षपछि सन् २२८७ मा मात्र दुवै ग्रह एकअर्काका नजिक हुने छन्।
– सन् २००३- पृथ्वीकै ठूलो ब्याट्री
सन् २००३ मा आजकै दिन पृथ्वीकै ठूलो ब्याट्री सञ्चालनमा आएको थियो। उक्त ब्याट्रीले २ हजार वर्गमिटर ओगटेको छ। र, त्यसको तौल १ हजार ३०० टन छ। अमेरिकाको अलास्कास्थित फेयरब्यांक्समा जडित उक्त ब्याट्रीले त्यस क्षेत्रका बासिन्दाका लागि ७ मिनट आपतकालीन बिजुली उपलब्ध गराउँछ।
– सन् १९६२- नासाको ‘मरिनर २’ प्रक्षेपण
सन् १९६२ मा आजकै दिन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘मरिनर २’ नामक यान प्रक्षेपण गरेको थियो। मानवरहित उक्त यान अन्य ग्रह नजिकबाट गुज्रिएको पहिलो मानव निर्मित वस्तु थियो। यो १४ डिसेम्बर १९६२ मा शुक्र ग्रह नजिक पुगेको थियो। उक्त अन्तरिक्ष यान पृथ्वीमा वैज्ञानिकहरूसँग ३ जनवरी १९६३ सम्म मात्र सम्पर्कमा रह्यो।
– सन् २००८- बाराक ओबामा राष्ट्रपति उम्मेदवार
सन् २००८ मा आजकै दिन बाराक ओबामालाई डेमोक्र्याट पार्टीले राष्ट्रपति उम्मेदवार चयन गरेको थियो। उनी त्यसरी मनोनित हुने पहिलो अफ्रिकी-अमेरिकी नागरिक थिए। अमेरिकाको ४४औं राष्ट्रपति ओबामा २० जनवरी २००९ देखि २०१७ सम्म दुई कार्यकाल पदमा रहे।