काठमाडौं- सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न गृहमन्त्री रमेश लेखकले तिङ्करमा छिट्टै अध्यागमन कार्यालय स्थापना गरिने बताएका छन्। अबको तीन, चार महिनाभित्रमै तिङ्करमा अध्यागमन कार्यालय स्थापना गरिने गृहमन्त्री लेखकको भनाइ छ।
महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्वपूर्ण परियोजना अघि बढाएर भारत र चीनसँग पनि जोडिने उनले बताए। तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरेर तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु,’ गृहमन्त्री लेखकले सोमबार प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालले गरेको कार्यक्रममा भने, ‘सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ, यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ।’
यस्तै उनले नयाँ सरकार बनेको छोटो समयभित्रै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुटाएर प्रतिनिधि सभाबाट पारितसमेत भइसकेको उनले बताएका छन्।