काठमाडौँ । झण्डै दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौंदेखि अलपत्र परेको छ । पर्वतको फलेबास नगरपालिका १ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन नसकेको हो ।
जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए भवन प्रयोगविहीन भएको छ । स्थानीयबासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएकाले करोडौँ रकम बेकामे भएको हो ।
खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई वर्ष हुँदा पनि सेवा सुरु हुन नसकेको हो । साढे एक तलाको नौकोठे भवन करिब तीन रोपनीमा बनेको छ । लामो समयदेखि पुरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण भएको थियो ।
साँघुरो छाप्रोमा उपलब्ध उपकरण जडान गरेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसै थन्क्याउनु परेको स्वास्थ्यचौकीका इञ्चार्ज शान्त अधिकारी बताउँछिन् । ‘बस्ने ठाउँ छैन, ती उपकरण जडान गरेर सेवा विस्तार गर्ने धेरै परको कुरा भयो,’ उजले भनिन् । बर्थिङ सेन्टरसहित सेवा विस्तार गर्न नयाँ भवनमा सर्ने अवस्था नभएपछि नगरपालिकासँग बजार क्षेत्रमा दुईवटा कोठा माग गरिएको उनले बताइन् ।
उनका अनुसार स्वास्थ्यचौकीमा एक अधिकृतस्तरको सिनियर अहेब, एक स्टाफ नर्स, एक अनमी, दुई पाँचौँ तहका स्वास्थ्य सहयोगी र एक कार्यालय सहयोगी कार्यरत छन् । दुई कोठे छाप्रोबाट सेवा दिनु पर्दा सबै कर्मचारी बस्ने कुर्चीसमेत अट्ने ठाउँ नभएको स्वास्थ्यकर्मीको गुनासो छ ।
‘हामीले धेरैपटक त्यहाँ हुँदैन भनेका थियौँ,’ स्थानीय एकनारायण श्रेष्ठले भने, ‘उतिबेला कुरा कसैले सुनेनन्, अहिले यो हालत भयो ।’