पपुवा न्युगिनी (पीएनजी) र मलेसियासँगको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पीएनजीलाई १८४ रनको लक्ष्य खडा गरेको थियो। तर, पीएनजी चार बल बाँकी रहँदै १६८ रनमा अलआउट भएको हो। अन्तिम ओभरमा पीएनजीलाई १७ रन आवश्यक थियो तर एक विकेट मात्र बाँकी थियो। नेपालले अन्तिम ओभरको दोस्रो बलमै पीएनजीको अन्तिम विकेट पनि गिरायो।
पीएनजीका लागि नोर्मान भानुआले अर्धशतक प्रहार गरेका थिए। ५२ रन बनाएर खेलिरहँदा उनी १९औं ओभरको पाँचौ बलमा करण केसीबाट धरापमा परे। छैटौं बलमा सिमोन अताइ शून्यमा आउट भए।
पीएनजीका ओपनर टोनी उरा पाँच रनमा आउट भए। लेगा सिएका २१ रनमा पेभिलियन फर्किए। कप्तान असद भालाले सातभन्दा बढी रन जोड्न सकेनन्।
यस्तै, चार्ल्स अमिनीलाई अबिनास बोहराले २२ रनमा बोल्ड गरे। सेसे बाउ पनि ३० रन बनाएर खेलिरहदा नेपालका कप्तान सन्दीप लामिछानेले धरापमा पारे। र, रिले हेकुरे तीन रन र जासन किला शून्यमा आउट भए।
बलिङतर्फनेपालका करण केसीले तीन विकेट लिए। कप्तान सन्दीप लामिछानेले पनि तीन विकेट हात पारे। उनले चार ओभरमा २२ रन खर्चिए। अबिनास बोहराले दुई विकेट लिए उनले चार ओभरमा २९ रन दिए। सोमपाल कामीले एक विकेट लिए।
त्यसअघि पीएनजीले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको नेपालले नौ विकेटको क्षतिमा १८३ रन जोड्यो।
नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले ४३ रन जोडे। उनले ३५ बलमा पाँच चौका र एक्का छक्का प्रहार गरे। त्यसअघि ओपनर कुशल भुर्तेलले २० रन ११ बलमा तीन चौका र एक छक्का प्रहार गरे।
रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले दुई चौका र एक छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी चार रन, कुशल मल्ल ११ रन र लोकेश बम पाँच रनमा आउट भए।
तेस्रो ओभरमा २५ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेको थियो।
१२ ओभरमा दोस्रो विकेट गुमाएको नेपालले त्यसपछि १६ ओभरसम्ममा प्रत्येक ओभरमा विकेट गुमायो। नेपालले १६ ओभरमा ६ विकेट गुमाउँदा १४१ रन जोड्यो।
१८ औं ओभरमा आउट भएका करण केसीले ७ बलमा १४ रन बनाए। उनले दुई छक्का प्रहार गरेका थिए। सोमपाल कामी एक रनमै आउट भए। अन्तिम ओभरमा आरिफ शेख २२ बलमा ३१ रन जोडेर आउट भए। बलिङतर्फ पीएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए।