काठमाडौँ । इलामको रोङ गाउँपालिकाले आफ्नै खर्चमा वडा नं २ मा दुई पक्की पुल निर्माण गरेको छ । उक्त वडाको को बर्फल्याङ र बदमटारमा रहेका दुईवटा खोलामा पुल निर्माण गरिएको हो ।
Advertisement
वर्षायाममा खहरे खोलाले समस्या भोग्नु परेका स्थानीयवासीले पुल निर्माण भएपछि खुसी व्यक्त गरेका छन् । पुल बनेपछि बर्फल्याङ र बदमटारवासीलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी वीरेन्द्र फुयाँलले बताए ।
सोही वडाको सानो नेते र दुधे खोलामा पनि गत वर्ष पक्की पुल निर्माण गरिएको थियो । गाउँपालिकाको लगानीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी र विद्यालय जाने विद्यार्थीलाई वर्षायाममा समेत आवतजावतमा मद्दत पुगेको छ ।
वर्षौंदेखि स्थानीयवासीको समस्या समाधान गर्न आफूहरू लागिपरेकोमा बल्ल सफल भइएको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताए ।