काठमाडौं- बारा जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित सडकमा ना.६ ख ४९४२ नम्बरको कन्टेनर ट्रकले ना.१९ प १२७७ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-११ अमाटार बस्ने २२ वर्षीय रामबाबु साहको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ कटहरी गाउँपालिका-५ स्थित भित्री सडकमा को.२९ प ९१९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोही ठाउँ बस्ने त्रिभुज मुडयारिको घरको भित्तामा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने २२ वर्षीय रबि हजारी थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार कटहरी गाउँपालिका-१ बस्ने २६ वर्षीय सत्य नारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही गोडैता नगरपालिका-१० स्थित भित्री सडकमा डिएल ४ सिएनबि २२९९ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री भारत घर भएकी ४० वर्षीया रंजिता देवी मण्डलको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै स्कारपियोको ठक्करबाट घाइते भएकी पैदलयात्री गौडैता नगरपालिका-१० बस्ने ६५ वर्षीया जयकलिया देवी मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ ।