पर्यटन बोर्डले नेपालगञ्जपछि धरानमा ट्राभल मार्ट आयोजना गर्ने भएको छ। बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीका अनुसार ११-१३ चैतमा धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्न लागिएको हो।
यसअघि २६-२८ फागुनमा बोर्डले नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना गरेको थियो। आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि मार्ट आयोजना गरिएको बोर्डले जनाएको छ।
आव ०७८-७९ को बोर्डको नीति तथा कार्यक्रममा सबै प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट’ आयोजना गरिने उल्लेख थियो।
नेपालगञ्जमा आयोजित मार्टमा उक्त शहरलाई ‘गेट वे अफ कर्णाली’का रूपमा प्रबर्द्धन गरिएको थियो। यस्तै, २५-२७ चैतमा धनगढीमा बोर्डले फारवेस्ट ट्राभल मार्ट आयोजना गर्दैछ।
धरानमा आयोजना हुन लागेको मार्टबाट प्रदेश-१ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरूको राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रचार गर्ने उद्देश्य बोर्डको छ। उक्त मार्टका संयोजक भवेषकुमार श्रेष्ठका अनुसार सन् २०१८ देखि धरानमा ट्राभल मार्ट आयोजना हुँदै आएको छ। अहिलेको तेस्रो संस्करण हो।
धनगढी ट्राभल मार्टका लागि ‘ब्युटिफुल फारवेस्टः शुक्लादेखि अपिसैपालसम्म’ नारा तय गरिएको छ। सुदूरपश्चिमको पर्यटनलाई ब्रान्डिङ गर्न उक्त नारा तय गरिएको बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए।