काठमाडौं- कोभिड-१९ महामारीले ३ वर्ष विश्व नै ठप्प बनाइदियो। उक्त महामारीमा परी संसारभर ७० लाख १० हजार जनाले ज्यान गुमाएको अनुमान छ।
कोभिडबाट ज्यान गुमाउनेले त गुमाइहाले, कोरोना संक्रमण भएर निको भएकाहरूले पनि अनेक प्रकारका स्वास्थ्य जटिलता बेहोर्दै आएका छन्। त्यसैले पोस्ट-कोभिड असरबाट बच्न संक्रमणबाट निको भएकाहरूले जीवनभर परहेजमा बस्नुपर्ने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य र बिमारीको आधारभूत विज्ञानले भन्छ- भाइरस र ब्याक्टेरियाहरू हाम्रो वातावरणमा हरेक ठाउँमा भेटिन्छन्। तिनको सम्पर्कमा सधैं मानिस पुगिरहेकै हुन्छ। तिनको संक्रमणमा मानिस पर्ने-नपर्ने विषय शरीरमा रोग प्रतिरोधात्मक क्षमता कति छ भन्नेमा निर्भर रहन्छ।
कोरोना भाइरसको संक्रमणमा ती व्यक्तिहरू ज्यादा परे, जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर थियो। र, उनीहरू गम्भीर प्रकारका जीवनशैलीसँग सम्बन्धित बिमारी थिए।
चिकित्सकहरूको भनाइमा हालसम्मको अध्ययनबाट पोस्ट-कोभिड असर निकै गम्भीर देखिएको छ। त्यसका कारण उत्पन्न स्वास्थ्य समस्याको सूची लम्बिँदो छ। त्यसैले तपसिलका स्वस्थ जीवनशैली अपनाउन आवश्यक देखिएको चिकित्सकहरूले सुझाएका छन्।
– भोजनमा भरपूर मात्रामा फल र सब्जीहरू सामेल गरौं
– नियमित रूपमा दैनिक आधा घण्टा शारीरिक व्यायाम गरौं
– फोक्सोलाई मजबुत बनाउन दैनिक प्राणायाम गरौं
– तनाव टाढा बसौं। त्यसका लागि तनाव व्यवस्थापनमा जुटौं।
– जंक फुड र प्याकेजमा बन्द खानाहरू खाँदै नखाऔं
– हाइड्रेटेड रहन दैनिक ७-८ गिलास पानी पिऊँ
– दैनिक ७-८ घण्टा भरपूर निद्रा लिऊँ
– सिगरेट र मदिरा सेवन पूर्ण रूपमा बन्द गरौं
– ध्यानको अभ्यास नियमित गरौं
– एक्लै नबसौं, सामाजिक गतिविधिमा सक्रिय बनौं