काठमाडौं- नेपाली विद्यार्थीका लागि पहिलो गन्तव्य हो अस्ट्रेलिया। हाल अस्ट्रेलियामा नेपालका ५९ हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको अनुमान छ। उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ अस्ट्रेलिया रहे पनि छिमेकी देश भारतको बदमासीका कारण नेपाली विद्यार्थीसमेत प्रभावित बनेका छन्।
भारतबाट अस्ट्रेलिया जाने विद्यार्थीले फेक डकुमेन्ट बनाएर अस्ट्रेलिया आएको भन्दै अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाइ गरेको छ। अस्ट्रेलियाको भिसासम्बन्धी नयाँ नीतिका कारण विद्यार्थीको लागत वृद्धि भएको छ। पढ्दै काम गर्ने समय पनि घटाइदिएपछि अभिभावकले अस्ट्रेलियामा रहेका छोराछोरीका लागि नेपालबाटै शुल्क पठाउनुपर्ने बाध्यता बढेको छ।
यसअघि २२ हजार डलर खातामा भए पुग्नेमा त्यसलाई बढाएर २९ हजार ८१० डलर देखाउनुपर्ने नियम बनेको छ। सोहीअनुसार विद्यार्थीले वित्तीय कागजात बनाउँदै आएका छन्। विद्यार्थीहरूले विदेश जानुअघि बैंक खातामा एक वर्षसम्म खान, बस्न र पढ्नका लागि बैंकमा पैसा देखाउनुपर्ने नियम छ भने अघिल्ला वर्षको तुलनामा भिसा दरमा पनि गिरावट आएको छ।
भिसामा किन कडाइ ?
पर्यटन र खानीपछि अस्ट्रेलियाको तेस्रो ठूलो आयस्रोत शैक्षिक उद्योग हो। त्यहाँ विश्वभरबाट विद्यार्थीहरू पढ्नका लागि जाने गर्छन्। अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी चीनबाट जान्छन्। भारतीय विद्यार्थीको संख्या दोस्रो र नेपाली विद्यार्थीको संख्या तेस्रो स्थानमा छ।
नक्कली कागजात बुझाएको भन्दै अस्ट्रेलियाका पाँचवटा विश्वविद्यालयले भारतीय विद्यार्थीको भिसामा कडाइ गरेको थियो। अस्ट्रेलियाका भिक्टोरिया, युनिभर्सिटी अफ ओलंगन, एडिथ कोभन, टरेन्स र साउथदर्न क्रस युनिभर्सिटीले भारतीय विद्यार्थीले विश्वविद्यालय र गृह मन्त्रालयमा बुझाएका कागजातहरू नक्कली भएको भन्दै भिसामा कडाइ गरेका थिए। भारतीय विद्यार्थीमाथि बढ्दो अविश्वासको असर नेपाली विद्यार्थीमाथि पनि पर्दै आएको हो।
अस्ट्रेलियाले भिसा जारी गर्दा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ।
पछिल्लो दशक अस्ट्रेलियामा जाने नेपाली विद्यार्थीको संख्या बढे पनि सन् १९५४ मै नेपाली विद्यार्थी अस्ट्रेलिया पुगेका थिए। अस्ट्रेलियाले कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति दिन शुरु गरेको हो। सन् १९५४ मा विभिन्न क्षेत्रमा पाँच नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको थियो। सोही वर्ष युनेस्कोमार्फत एकजना अस्ट्रेलियाली नागरिक लाइब्रेरियनका रूपमा नेपाल आएका थिए।
तर, पछिल्लो समय भिसामा कडाइ गरेपछि नेपाली विद्यार्थीले अरू नै गन्तव्य रोज्न थालेको स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)का अध्यक्ष राजु निरौला बताउँछन्। भन्छन्, ‘अस्ट्रेलियाले भिसामा कडाइ गर्न थालेपछि विद्यार्थी अस्ट्रेलियाभन्दा, अमेरिका, क्यानाडा, बेलायतजस्ता मुलुकमा जान चाहन्छन्। हामी नेपाल र अस्ट्रेलिया सरकारसँग पनि भिसा प्रक्रिया सहज बनाउने विषयमा छलफल गरिरहेका छौं।’
यस्तै, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष विष्णुहरि पाण्डे स्थानीय बासिन्दाका लागि रोजगारीका कारणले भिसामा कडाइ गरेको बताउँछन्। भन्छन्, ‘दक्षिण एसियाली मुलुकको भिसामा केही कडाइ गरेको छ। तर, जुन मापदण्ड पूरा गरेका विद्यार्थीको भिसा लागिरहेको छ।’
नेपाल-अस्ट्रेलिया सम्बन्ध
नेपाल र अस्ट्रेलियाको सम्बन्ध ६ दशकभन्दा पुरानो छ। १५ फेब्रुअरी १९६० मा नेपाल र अस्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १९८४ मा कार्यवाहक राजदूतस्तरमा अस्ट्रेलियाले नेपालमा दूतावास खोल्यो र १९८६ देखि राजदूतस्तरमा स्तरोन्नति गर्यो।
नेपालले भने मार्च २००७ मा क्यानबेरामा दूतावास स्थापना गर्यो। नेपालले सिड्नी, पर्थ र अडेलिङमा महावाणिज्य दूतावास र वाणिज्य दूतावासहरू स्थापना गरेको छ।
नेपाल र अस्ट्रेलियाको उच्चस्तरीय भ्रमणले पनि दुई देशको सम्बन्ध प्रगाढ बनाएको छ। २७ फेब्रुअरी १९७० मा तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्याको विवाहमा अस्ट्रेलियाको उच्चस्तरीय टोली सहभागी भएको थियो। २३-३० अप्रिल १९७१ मा राजा महेन्द्र र रानी रत्नाले अस्ट्रेलियाको राजकीय भ्रमण गरेका थिए।
जनवरी १९७४ मा अस्ट्रेलियाको संसदीय प्रतिनिधिमण्डल नेपाल आएको थियो भने फेब्रुअरी १९७५ मा अस्ट्रेलियाका गभर्नर जनरल सर जोन केरी राजा वीरेन्द्रको राज्याभिषेकमा सहभागी हुन नेपाल आएका थिए।
सन् १९८५ मा राजा वीरेन्द्र र रानी ऐश्वर्याले अस्ट्रेलिया भ्रमण गरेका थिए। नेपाल टेलिभिजनले उक्त भ्रमणको प्रत्यक्ष प्रसारण गरेको थियो। त्यसपछि सन् १९९७ मा अस्ट्रेलियाका उपप्रधानमन्त्री टिम फिचरले नेपाल भ्रमण गरेका थिए।
कूटनीतिक सम्बन्ध ६ दशक पुरानो भए पनि नेपाल-अस्ट्रेलिया सम्बन्ध प्रथम विश्वयुद्धबाटै शुरु भएको हो। सन् १९१५ मा प्रथम विश्वयुद्धमा नेपाली सेना बेलायती पक्षबाट लडाईंमा सहभागी भएका थिए। सोही क्रममा गल्लीपोलीको युद्धमा नेपाली सेनाले अस्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा लडाइँ लडे। त्यसको सम्झनामा अहिले पनि प्रत्येक वर्ष २५ अप्रिलमा हुने सैन्य परेडमा अस्ट्रेलियाले नेपालीलाई आमन्त्रण गर्ने गरेको छ।
पछि सन् १९४९मा नेपाललाई राष्ट्रसंघको सदस्य बनाउने विषयमा पनि अस्ट्रेलियाले नेपालको पक्ष लिएको थियो। अस्ट्रेलियाले नेपालको कृषि, पशुपक्षी, वनजंगल, परराष्ट्र सेवा, चिकित्सा, जहाज, इन्जिनियरिङ, रेडियोलगायत क्षेत्रका जनशक्तिलाई तालिम तथा पढाइमा सहयोग गर्दै आएको छ।
सन् १९७१ मा अस्ट्रेलियाले वैदेशिक सहायताअन्तर्गत नेपाललाई दुईवटा ‘डीसी-थ्री’ जहाज दिएको थियो। सन् १९८४ सम्म बर्सेनि ५ हजार अस्ट्रेलियन नेपाल घुम्न आउँथे भने नेपालबाट भने उच्चस्तरीय भ्रमण बाहेक पर्यटकीय गतिविधि हुन सकेको थिएन। नेपालबाट हालसम्म प्रधानमन्त्रीस्तरीय भ्रमण भने हुन सकेको छैन।
नेपाल र अस्ट्रेलियाबीच व्यापार सम्झौता भए पनि अस्ट्रेलियासँगको नेपालको व्यापार भने घाटामा छ। नेपालबाट अस्ट्रेलियामा चिया, कफी, छालाका वस्तुहरू र कार्पेट निर्यात हुँदा अस्ट्रेलियाबाट पेट्रोलियम पदार्थ, पेय पदार्थ, कपडा आयात हुँदै आएका छन्। यससँगै अस्ट्रेलियाले नेपालमा भएका भुटानी शरणार्थीलाई पनि त्यहाँ पुनर्वास गराएको छ।
भारत-अस्ट्रेलिया सम्बन्ध
भारत र अस्ट्रेलिया दुवै चीनको बढ्दो आक्रामकतालाई निस्तेज पार्न भन्दै निर्माण गरिएको ‘चतुर्भुज सुरक्षा संवाद-क्वार्डिलेटेरल सेक्युरिटी डायलग’ (क्वाड)का सदस्य हुन्। क्वाडमा भारत, अस्ट्रेलिया, अमेरिका र जापान छन्। भारतसँग अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा चीनलाई एक्ल्याउने शक्तिको रूपमा हेरिँदै आएको छ।
शिक्षा, पर्यटनसहित सैन्य सहयोगमा पनि दुई देशको सम्बन्ध राम्रो मानिन्छ। भारत र अस्ट्रेलियाको द्विपक्षीय व्यापार २७.५ बिलियन अमेरिकी डलरमा हुने गरेको छ। उनीहरूले यसलाई बढावा दिन आर्थिक सहयोग व्यापार सम्झौता गरेका छन्।
अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी अध्ययनका लागि पठाउने देशको सूचीमा भारत दोस्रो नम्बरमा पर्छ। अस्ट्रेलियामा हालसम्म १ लाख १८ हजार ८६९ भन्दा धेरै भारतीय विद्यार्थी अध्ययनरत रहेको अनुमान छ। जसले अस्ट्रेलियाको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरेको छ।
शिक्षासँगै रक्षा सहयोगमा पनि दुई देशको सम्बन्ध बढ्दै गएको छ। क्वाडमा सहभागी हुँदै भारतमा भारत, अमेरिका, जापान र अस्ट्रेलियाले संयुक्त सैन्य अभ्यास गर्दै आएका छन्।
भारत र अस्ट्रेलियाले ऊर्जा क्षेत्रमा पनि एकअर्कालाई सहयोग गर्ने विषयमा हस्ताक्षर गरेका छन्। भारत र अस्ट्रेलियाको सम्बन्ध खेलसँग पनि जोडिएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा अस्ट्रेलियाका धेरै खेलाडी जोडिएका छन्।
चीन-अस्ट्रेलिया सम्बन्ध
कोभिड-१९ का कारण बिग्रँदै आएको चीन-अस्ट्रेलिया सम्बन्ध झन्-झन् कठिन मोडमा पुग्दै छ। अस्ट्रेलियाले कोभिड-१९ महामारी चीनको वुहानबाट शुरु भएको र त्यसको नियन्त्रणमा चीन असफल भएको आरोप लगाएको थियो। अस्ट्रेलियाले विश्व स्वास्थ्य संगठनसँग त्यसको निष्पक्ष छानविनको माग गरेको थियो।
चीनले यो विषय अस्वीकार मात्र गरेन, अस्ट्रेलियासँगको सम्बन्धलाई नै पुनरावलोकन गर्ने अवस्थासम्म पुग्यो। जवाफमा चीनले व्यापारिक शैली अपनायो र अस्ट्रेलियामा निर्यात हुने जौ र गाईको मासुमा निर्यातको सीमा तोकिदियो। जौमा ८० प्रतिशत सीमा शुल्क वृद्धि गरेको थियो।
अस्ट्रेलियाले कूल उत्पादित सामग्रीको ३२.६ प्रतिशत चीनमा निर्यात गर्छ भने अस्ट्रेलियामा सबैभन्दा धेरै चिनियाँ विद्यार्थी अध्ययन गर्छन्। यसले उनीहरूको सम्बन्धमा खासै असर नपर्ने जस्तो देखिए पनि अस्ट्रेलिया चीनलाई एक्ल्याउन बनाइएको क्वाडको सदस्य भएका कारण उनीहरूबीचको सम्बन्ध सुमधुर देखिँदैन।
गत ५ फेब्रुअरीमा बेइजिङको एक अदालतले अस्ट्रेलियाली लेखक याङ हेङजुनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। जासुसीको आरोप लागेका उनको मृत्युदण्डको सजायले चीन-अस्ट्रेलिया सम्बन्ध अझ बिग्रन सक्ने अनुमान गरिएको छ। तर, यसबीचमा दुई देशका कूटनीतिज्ञहरू बीच पटक-पटक छलफल भने हुँदै आएको छ। यसले पनि चीन र अस्ट्रेलियाको बिग्रँदो सम्बन्धमा सुधार हुनसक्ने कतिपयको अनुमान छ।
त्यसभन्दा पहिला चिनियाँ टेलिकम हुवावेको विषयले पनि दुई देशको सम्बन्धमा दरार उत्पन्न भएको थियो। सन् २०१८ मा अस्ट्रेलियाले हुवावेलाई प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलियाले हिन्द-प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई पनि मन पराएको देखिँदैन।
भारत-चीन-अस्ट्रेलिया सम्बन्धमा नेपाल
संयोग नै मान्नु पर्छ, अस्ट्रेलियामा धेरै विद्यार्थी पठाउनेको सूचीमा क्रमशः चीन, भारत र नेपाल पर्छन्। चीनका १ लाख ५२ हजार ३९५, भारतका १ लाख १८ हजार ८ सय ६९ र नेपालका ५९ हजार १ सय ४७ जना अस्ट्रेलियामा अध्ययन गरिरहेको अनुमान छ।
यी देशहरूको तुलना गर्दा भारत र अस्ट्रेलियाको विरुद्धमा चीनजस्तो देखिन्छ। तर, उनीहरूका आ-आफ्नै स्वार्थ छन्। इन्डो-प्यासिफिक रणनीतिमा चीन र अस्ट्रेलियाको विषयमा भारत जोडिएको विज्ञहरू बताउँछन्। अस्ट्रेलिया चीन र भारत दुवैसँग सम्बन्ध स्थापित गर्न खोजिरहेको छ।
भारतलाई जोडेर क्षेत्रीय कूटनीतिमा अस्ट्रेलिया बलियो बन्न खोजेको अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहालको विश्लेषण छ। भन्छन्, ‘अस्ट्रेलियाले चीनसँग व्यापार खटपट हुनेबित्तिकै भारतसँगको सम्बन्ध बढाएको देखिन्छ। व्यापारका विषयमा दुवै पक्षको खटपट रही नै रहने भयो। तर, चीन र भारत दुवै देशले अस्ट्रेलियासँगको सम्वन्ध बलियो बनाउन लागेको देखिन्छ। भारत र चीन दुवै अस्ट्रेलियामार्फत इन्डो-प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव बढाउन चाहन्छन्।’
नेपालको सन्दर्भमा दुई देशबीचको हेराइ आ-आफ्नो भएको दाहालको तर्क छ। अस्ट्रेलियाबाट धेरै अवसर लिन सकिने भए पनि त्यसो नभएको दाहाल बताउँछन्। विश्वमा उदयीमान दुई देशको बीचमा रहेको नेपालले आफू अनुकूल रणनीति बनाउनुपर्नेमा व्यापारमा खास केही गर्न नसकेको दाहालको तर्क छ।
नेपाल आफ्नो राम्रो साथी बन्छ भन्ने विषयमा अस्ट्रेलियाले नेपाललाई हेरिरहेको छ। नेपालले पनि अस्ट्रेलियाबाट बढीभन्दा बढी फाइदा लिन सक्छौं भन्ने विषयमा जानुपर्नेमा कूटनीति जस्ताको तस्तै रहेको दाबी उनको छ। भन्छन्, ‘दुई देशसँगको अस्ट्रेलियाको सम्बन्धका कारण पनि नेपालले धेरै फाइदा लिन सक्छ। त्यसका लागि नेपालले डिप्लोम्याटिक स्ट्राटेजीलाई बलियो बनाएर लैजानुपर्छ।’
बर्सेनि नेपाली विद्यार्थी अस्ट्रेलिया गइरहेको समयमा नेपालमा पनि अस्ट्रेलियन विद्यार्थी ल्याउनुपर्ने परामर्शदाताहरूको भनाइ छ। विशेषतः नेपालमा नेपाली कला र संस्कृति, धर्म, माउन्टेन इन्जिनियरिङ, जैविक विविधता तथा हाइड्रोका विद्यार्थी ल्याउन सकिने उनीहरूको भनाइ छ। फेकनका अध्यक्ष निरौला भन्छन्, ‘नेपालमा विदेशी विद्यार्थी ल्याउने धेरै सम्भावना छ। त्यसका लागि सरकार लाग्नुपर्छ। तर, सरकारसँग ठोस योजना नै नहुँदा नेपालमा विदेशी विद्यार्थी ल्याउन सकिएको छैन।’
दुई शक्तिराष्ट्रहरू भारत र चीनको बीचमा रहेको नेपालले दुई देशसँगको सम्बन्धलाई समानान्तर रूपमा अघि बढाउँदै अन्य देशसँगको सम्बन्धमा पनि जोड दिन आवश्यक छ। भारत-चीन-अस्ट्रेलिया तीनवटै देशसँग नेपालको व्यापार घाटामा छ। आन्तरिक उत्पादनलाई बढाउन सक्ने हो भने तीनवटै देश नेपालका लागि उत्कृष्ट व्यापार साझेदार बन्ने निश्चित छ।