घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त प्रमुख गोकुल शर्मा पौडेलसहित नौ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा उनीहरू विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बरालविरुद्ध पनि मुद्दा दायर गरेको छ। उनीहरूले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित परीक्षार्थीलाई पनि उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्न शर्मालाई सघाएको अनुसन्धानबाट खुलेको छ।
उनीहरूले १६८ जना परीक्षार्थीहरूको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको पाइएको अख्तियारले जनाएको छ। यससँगै नौजना अरोपितको उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कसुर भएकाले सोही दफा बमोजिमको अधिकतम सजाय मागदाबीसहित शुक्रबार विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो।