नयाँदिल्ली- चिकित्सकहरूले मह र सख्खर ज्यादा खाँदा पनि शरीरमा ब्लड सुगरको मात्रा बढ्ने बताएका छन्।
भारतलाई संसारभरको डाइबिटिजको राजधानी पनि भन्ने गरिन्छ। किनकि, संसारभरका डाइबिटिजका बिरामीमध्ये १७ प्रतिशत भारतमै छन्।
डाइबिटिज खासगरी जीवनशैलीसँग जोडिएको बिमारी हो। र, वंशाणुगत कारणले पनि त्यसको समस्या हुन्छ। प्रोसेस्ड फुडको अधिक सेवन, हाई क्यालोरी डाइट, शारीरिक निष्क्रियता र गम्भीर तनावका कारण पनि डाइबिटिज हुन्छ। शरीरमा अधिक बोसो, पेटमा जमेको बोसोले पनि डाइबिटिज गराउँछ।
डाइबिटिज व्यवस्थापनका लागि पहिले ब्लड सुगरको स्तर र इन्सुलिन रेजिस्टेन्सबारे बुझ्नु जरुरी छ। भोजनबाट प्राप्त हुने कार्बोहाइड्रेट ग्लुकोजमा टुक्रिएर रक्त प्रवाहमा सामेल हुन्छ। त्यसपछि प्यांक्रियाज इन्सुलिन हर्मोन रिलिज गर्छ, जसले ग्लुकोजलाई ऊर्जाका रूपमा ग्रहण गर्न शरीरका कोशिकाहरूलाई मद्दत गर्छ।
कोशिकाहरूले जब इन्सुलिनप्रति कम प्रतिक्रिया दिन थाल्छन्, तब इन्सुलिन रेजिस्टेन्स हुन थाल्छ। त्यसपछि ग्लुकोजको ठीक उपयोग हुन सक्दैन। त्यसबाट ब्लड सुगरको स्तर निरन्तर बढ्छ। र, डाइबिटिजको खतरा पैदा हुन्छ।
त्यसैले हाई प्रोटिनयुक्त नास्ता खान चिकित्सकहरू सल्लाह दिन्छन्। त्यसका कारण बिहानैदेखि ब्लड सुगरको स्तर स्थिर रहन्छ। र, गुलियो खाने इच्छा कम हुन्छ। खासमा, प्रोटिनलाई पच्न लामो समय लाग्छ। त्यसका कारण ब्लड सुगर तीव्र गतिमा बढ्दैन।
उदाहरणका लागि फ्राइ राइस र पराठाको साटो मुङ दाल, पनिर र अण्डा नास्तामा लिनु उपयुक्त हुन्छ। ती वस्तुमा प्रोटिन अधिक हुन्छ। र, भोकलाई नियन्त्रणमा राख्न त्यस्ता वस्तुले मद्दत गर्छन्।
ती वस्तुले अपराह्नमा ब्लड सुगर गिरेर अचानक हुने कमजोरी र थकानबाट पनि बचाउँछन्। र, गुलियो वस्तु खाने इच्छा कम गराउँछन्।
त्यसैले सही खानाको छनोट नै ब्लड सुगर व्यवस्थापनका लागि महत्त्वपूर्ण हुन्छ। र, भोजनको शुरुवात नै हाई फाइबरयुक्त खानेकुराबाट गर्नुपर्छ। त्यसमा पनि प्रोटिनयुक्त खाना शरीरका लागि साह्रै लाभदायक हुन्छन्। भात, रोटीजस्ता खानेकुरा अन्तिममा थोरै मात्र खानु राम्रो हुन्छ।
सबैभन्दा पहिले सलाद या कम तेलमा पाकेका सब्जीहरू खाऊँ। त्यसपछि चिकेन, माछा, पनिरजस्ता प्रोटिनयुक्त खाना खाऊँ। र, अन्तिममा दाल र सब्जीका साथमा थोरै भात या रोटी खाऊँ।
सादा चामल, मैदाजस्ता उत्पादन, आलु, कर्नफ्लक्ेस, इन्स्ट्यान्ट नुडल्स, मठिाई, मह, सख्खर, फ्रुट जुस र गुलिया पेय पदार्थ कम खाऊँ। ती पदार्थले ब्लड सुगर तीव्र गतिमा बढाउँछन्।
(भास्कर डट कमबाट)