काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ वर्षदेखि सञ्चालन भएको आकाशे पुल उद्घाटन गरेका छन् । आफ्नो कार्यकालको समय सकिनै लाग्दा उनले माइतीघर (पुरातत्व विभागअगाडि)को आकाशे पुल उद्घाटन गरेका हुन् ।
स्थानीय चुनाव नजिकिएसँगै उद्घाटन समारोहका व्यस्त भएका मेयर शाक्यले पैदल यात्रुलाई चकित बनाउने गरी शिलापत्रसहित आकाशे पुलको उद्घाटन गरेका हुन् । पछिल्लो समय उनी दैनिकजसो विभिन्न पूर्वाधारको शिलान्यास कार्यक्रममा समेत उत्तिकै सक्रिया बन्दै आएका छन् ।
सञ्चालनमा आएको डेढ वर्षपछि मर्मतसम्भार गर्नु पर्ने भएको पुल मेयर शाक्यले चुनावको मुखैमा उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले आकाशे पुल निर्माण गर्न महानगर अभियान नै चलाएको बताए ।
उद्घाटन र शिलान्यास कार्यक्रम नछुटाएका मेयर शाक्यले पार्टीले दिए पुनः महानगरको मेयर बन्ने बताउँदै आएका छन् ।