काठमाडौं– पाँच खेलको टी-२० शृंखलामा एक खेलमा हार र लगातार ३ खेलमा जित निकाल्दै वेस्ट इन्डिज एले शृंखला पोल्टामा पारेको छ।
बिहीबार सिरिजको चौथो खेलमा नेपाललाई २८ रनको पराजित गर्दै वेस्ट इन्डिज एले शृंखला जितेको हो। जारी खेलमा विस्फोटक वेस्ट इन्डिजसमामु नेपाल बलिङ र ब्याटिङ दुवैमा कमजोर देखिएको छ।
वेस्ट इन्डिज एले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्र जोड्न सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे। त्यस्तै दीपेन्द्रसिंह ऐरी, गुल्सन झा र सन्दीप जोराले समान १९/१९ रन बनाउँदा अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले। फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का हान्दै ८४ रन बनाउँदा चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्का हान्दै ५८ रन बनाए। त्यस्तै, फाबियन एलनले ३३ रन बनाए।
बलिङमा नेपाल कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए।
अब सिरिजको अन्तिम खेल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ।